रमणीय स्थल बन्दै,भद्रपुरस्थित चन्द्रगढीमा रहेको महेन्द्र पार्क
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा रहेको महेन्द्र पार्क अहिले रमणीय स्थल बन्दै गएको छ। भद्रपुरको ८ नं. वडा कार्यालयले सो पार्कलाई सुन्दर बनाउने लक्ष्यका साथ आफ्नो वडाको गौरवको योजना अनुसार काम अघि बढाए पछि अहिले पार्क आकर्षणको केन्द्र बनेको हो।
पार्क अहिले सौन्दर्यको केन्द्र बनेको छ, ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा ‘मनोज ‘-ले भन्नुभयो – ” जिल्लाको सदरमुकाममा रहेको यो पार्कलाई वडा समितिले विशेष महत्त्व दिएर यसको श्रृङ्गारमा ध्यान पुर्याएका छौँ, साँच्चै पार्क अहिले हेर्न र घुम्न लायक भएको छ।
उहाँले भन्नुभयो – रङ रोगन, नयाँ फूल बुट्यानको रोपण र हेरचाह, फोहोराको व्यवस्थापन, पानीको व्यवस्था, पोखरीमा सफा पानी र माछाको डुबुल्की मराइले बगैंचा मनमोहक बनेको छ ।
त्यसमा चिप्लेटी, पिङ तथा अन्य बोट विरुवाको आकर्षक कटाइ छटाईंले भरपुर मनोरञ्जन प्रदान गर्दछ। त्यसैले, यता केही समयदेखि विभिन्न विद्यालयका छात्र छात्रालाई समेत विद्यालयले अवलोकन भ्रमणमा त्यहाँ पुर्याउन थालेको छ।
वडाध्यक्ष सुब्बा परिवारले आफ्ना पिता स्व.वीरहाङ लिम्बूको स्मृतिमा त्यहाँ अप्राप्य जातका लाख रुपैयाँभन्दा बढीका विभिन्न विरूवाहरू रोपेको छ। सुन्दर बगैँचामा चित्ताकर्षक फूल विरूवा र शिल्पी सजावटले पूर्ण महेन्द्र पार्कको संरक्षण सम्बर्धनमा विशेष चासो राख्दै वडा कार्यालयले थालनी गरेको कार्यले सदरमुकामको सुन्दरता थपिएको सामाजिक व्यक्तित्व धनजुजु श्रेष्ठ बताउनुहुन्छ।
यही सुन्दरताको परखका लागि उहाँको नेतृत्वमा शुक्रबार नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाद्वारा सञ्चालित कोसी प्रदेश स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेका आवासीय आश्रित अपाङ्गता भएकाहरूलाई त्यहाँ अवलोकन भ्रमण गराउनुभएको थियो।
अवलोकनमा गएको टोलीलाई ८ नम्वर वडा समितिले स्वागत सम्मान गरेको थियो। त्यस अवसरमा वडाध्यक्ष सुब्बा परिवारले आफ्नी स्वर्गीय आमा हाङमा लिम्बूको स्मृतिमा पुनर्स्थापना केन्द्रका अपाङ्गता भएका १४ जनालाई तयारी लुगा र खाजा प्याकेट प्रदान गरेको थियो।
हाल सालै व्यवस्थित र सौन्दर्यीकरण गरिएको महेन्द्र पार्क अपाङ्ग मैत्री समेत बनेको छ – पुनर्निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष समेत रहेका नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष
धनजुजु श्रेष्ठले भन्नुभयो – अपाङ्गता भएकाहरू ह्वील चेयर लिएरै सहजै पार्क घुम्नै सक्छन्। त्यसले पनि यसको आकर्षण थपिएको छ।
केही दिन अघि भद्रपुरको भानु आधारभूत विद्यालय र महेशपुर आधारभूत विद्यालयका छात्र छात्रालाई बिद्यालयले अवलोकन भ्रमण गराएको सो पार्कमा पुगेको अपाङ्गता पुनर्स्थापना केन्द्रको टोलीमा पूर्व केन्द्रीय अध्यक्ष श्रेष्ठसहित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापाका अध्यक्ष ऋषि चापागाईँ, उपाध्यक्ष पवन श्रेष्ठ, महासचिव चन्दनकुमार महतोलगायत सदस्य पदाधिकारीहरू समेत सहभागी हुनुहुन्थ्यो।