बाहुण्डाँगी जेसीजको पदहस्तान्तरण
बाहुण्डाँगी । सांसद विश्वप्रकाश शर्माले जनसंख्याको उचित व्यवस्थापन गर्न नसक्दा देशले सोचेजति सफलता हासिल गर्न नसकेको बताएका छन् ।
बाहुण्डाँगी जेसीजको पदहस्तान्तरण कार्यक्रममा सहभागी हुन शुक्रबार बाहुण्डाँगी आइ पुगेका सांसद शर्माले देशको जनसंख्याको उचित व्यवस्थापन गर्न नसक्नुनै हाम्रो असफलताको जड भएको बताएका छन् ।
सांसद शर्माले तुलनात्मकरुपमा हाम्रोभन्दा कम जनसंख्या भएका विश्वका समृद्ध मुलुकहरूले विश्वका दक्ष जनशक्ति आयात गर्दै प्रगतिपथमा अघि बढी रहेको बताए ।
देश बनाउने भनेको आत्मसम्मानका साथ सबै नागरिकले जीउन पाउने वातावरण निर्माण हुनु रहेको बताउँदै शर्माले पछिल्लो समय महिला माथी हुने हिंसा र जातीय विभेदले नागरिकको आत्मसम्मानमा चोट पुगेको धारणा राखे ।
नेपाल सत्तीको सराप हैन बुद्धको आशीर्वाद प्राप्त भएको देश भएको बताउँदै उनले जलविद्युत र बनजंगलको उपयोग गर्न सके समृद्धि हासिल गर्न धेरै समय पर्खनु नपर्ने विश्वास व्यक्त गरे ।
मेचीनगर-४ स्थीत बाहुण्डाँगी सामुदायिक भवनमा आयोजित पदहस्तान्तरण समारोहमा वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष देबु बानियाँलाई अध्यक्षको चेन हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि सांसद शर्मा, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बाहादुर तामाङ, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्षहरु, जेसीजका झापाका विभिन्न शाखा अध्यक्षलगायतले शुभकामना व्यक्त गरेका थिए ।
पदहस्तान्तरण भएसँगै बाहुण्डाँगी जेसीजको आगामी १ वर्षको कमाण्ड देबु बानियाँले सम्हाल्ने छन् । यसअघि सम्पन्न अधिवेशनले वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार र सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराईली, सदेश पौडेल, थेसिस रुचाल र किरण गौतम, महासचिवमा सुस्मिता खतिवडा, कानूनी सल्लाहकारमा नित्यानन्द चम्लागाईँ तथा कोषाध्यक्षमा न्यूटन कार्की चयन भइ सकेका छन् ।
त्यसैगरी कार्यक्रम संयोजकमा सामुल राय, तालिम संयोजकमा विशाल तामाङ तथा जनसम्पर्क अधिकारीमा चित्रबहादुर श्रेष्ठ मनोनित भएका छन् ।
सो अवसरमा प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रमको उद्घाटन शत्रको संचालन २०२३ का महासचिव नित्यानन्द चम्लगाईँ तथा समापन समारोहको संचालन वर्ष २०२४ की महासचिव शुस्मा खतिवडाले गरेकी थिइन् ।