आज श्रीपञ्चमी पर्व मनाइँदै, वसन्त ऋतुको प्रारम्भ
काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।
आजको दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधान लेखिएको छ । फागुन र माघ महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
श्रीपञ्चमीका दिन विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा यस दिन मेला लाग्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । वसन्त पञ्चमीका अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ ।