झापा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
झापा । चर्च ब्वाइज युनाइटेड क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा न्यूरोटिम एनआरटीलाई १-० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजले स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६ औं मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरे । पहिलो हाफमा लिग बिजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको थियो भने दस्रो हालमा एनआरटीले चर्च ब्वाइजलाई दबाबमा राख्यो । तर, खेलमा फर्कन सकेन । पाएको अवसरलाई एनआरटीले सदुपयोग गर्न सकेन । खेलको ८६ औं मिनेटमा चर्च ब्वाइज अग्रतालाई दोब्बर बनाउने अवसरलाई सदुपयोग गर्न सकेन । मैदानको मध्य भागबाट चर्च ब्वाइजका बिजु भुजेलले एक्लै लगेको बल विपक्षी रक्षक पुजन होना बिट हुँदा पनि गोल गर्न सकेनन् ।
जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।
मंगलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका गोलका लागि उत्कृष्ट पास निकाल्ने सञ्जित राई भए । उनले नगद ११ हजार प्राप्त गरे ।
बुधबारको खेल एडिभिजन लिगको दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब र नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजक झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।