झापा गोल्डकप : पहिलो हाफमा झापा-११ लाई अग्रता
झापा । छैटौं झापा गोल्डकपको बिहीबारको खेलो पहिलो हाफमा झापा-११ ले सुरुवाती अग्रता लिएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भइरेहको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरविरुद्ध झापा-११ ले अग्रता लिएको हो ।
खेलको २५ औं मिनेटमा आदित्य शाक्यको गोलमा झापाले अग्रता लिएको हो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले राम्रो प्रदर्शन गरिरहेको छ । झापाले खेलमा निकै राम्रो अवसर सृजना गरिरहेको छ । यद्यपि स्कोर भने एक गोल मात्र निकालेको छ । नवप्रवेशी युवा खेलाडीले भरिएको झापा ११ जारी प्रतियोगितामा पहिलो खेलिरहेको छ । विगतमा झापा ११ मा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अनुभवी खेलाडीको बर्चश्व रहेको थियो । तर, अहिले नवप्रवेशी युवा खेलाडी र केही विदेशी खेलाडीसहित झापा ११ मैदान उतारेको छ ।
पाहुना टोली एन्फा मकवानपुरले खेलमा फर्कने प्रयास गरिरहेको छ ।
झापा ११ पाचौँ झापा गोल्डकपको उपविजेता हो । फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । पछिल्लो पटक झापा ११ ले पाँचथर गोल्डकप खेलेको थियो । त्यहाँ पनि सेमिफाइनलमा त्रिभुवन आर्मीसँगै हार ब्यहोरेको थियो । आजको विजेताले सेमीफाइनलमा चर्च ब्वाईज युनाइटेडसँग प्रतिस्पर्धा गनुपर्नेछ ।
१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।