झापा गोल्डकपको पहिलो सेमिफाइनल : पहिलो हाफ आर्मी र एपीएफको बराबरी
झापा । जारी छैटौं झापा गोल्डकपको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबबीच बराबरी टुंगिएको छ । डोमालाल राजवंशी रंगशालामा शुक्रबार भइरहेको पहिलो सेमिफाइनल खेलको पहिलो हालमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । झापा गोल्डकपको चारपटकको विजेता आर्मी र एपीएफले प्रतिस्पर्धात्मक खेल खेलिरहेका हुन् । दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि स्कोर निकाल्न सकेका छैनन् । दोस्रो हाफमा कसले स्कोर निकाल्छ त्यो भने हेर्न बाँकी छ । आजको खेलको विजेताले सोमबार हुने फाइनल खेलमा प्रवेश गर्नेछ । उसले शनिबार हुने झापा-११ र चर्च ब्वाइजबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
आजको खेलको विजेताले कम्तीमा सात लाख रुपैयाँ सुरक्षित गर्ने छ । झापा गोल्डकपको फाइनल खेल आगामी २८ गते हुदैछ । उपाधि विजेता टोलीले नगद १३ लाख रुपैंयासहित ट्रफि तथा उपविजेता टोलीले सात लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।