बिहीबार हुरी वताससहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको थियाे । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिनुभयाे । उहाँले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयाे। ‘बुधबार काठमाडौँमा दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।’ – उहाँले भन्नुभयाे ।
मौसमविद् अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभयाे। उहाँका अनुसार गए राति पनि देशका विभिन्न स्थानमा वर्षा भएकाे छ भने तुलनात्मक रुपमा बिहीबार कम वर्षा हुनेछ।
महाशाखाको पछिल्लो विवरणमा बुधबार काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० ०६:३९