चिनियाँ गिरोहबाट एक वर्षमा २८ सय ३१ केजी सुन तस्करी
चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेला पारेको हो ।
यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए । ‘हामीले विभिन्न विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गरेका थियौँ,’ उनले भने, ‘जसमा उनीहरूले धेरै सुन तस्करी गरेको पुष्टि हुन्छ, यसमा अब छुट्टै अभियोजन हुन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।