बिर्तामोडका दुई वटा बैङ्कमा तोडफोड, चार जना पक्राउ
बिर्तामोड । झापाको बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गर्ने बुद्धशान्ति ४ का अन्जेस राई (बुलेट किराँती), सोही ठाउँका बिकेस् राई, बिर्तामोड ९ का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल पक्राउ परेका छन् ।
गत वैशाख २५ गते एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कले ऋणीलाई टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुसीराम चौधरी आत्महत्या गरेको थिए । त्यसैको विरोधमा दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा सङ्गठन नागरिक युवा दस्ताले बैङ्कमा तोडफोड गरेका थिए ।
करिब १५० जनाको उपस्थितिमा कालो मास्क र नेपालको झन्डा सहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरूले बैङ्कमा ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले ज्योति विकास बैङ्कमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले एभरेस्ट बैङ्क रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति विकास बैङ्कमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।