सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग
काठमाडाैं । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् । डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्पmत त्यसका लागि अभियान नै चलाएका छन् ।
काठमाडौंको हेपाली हाइटस्थित निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले सहयोग घोषणा गरेका हुन् । सो अवसरमा डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेको कामबारे जानकारी गराएका थिए । डा. कोइरालाको ब्रिफिङ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन कति सहयोग रकम आवश्यक पर्ने र भाटभटेनी समूहबाट कति सहयोगको अपेक्षा छ भनी सोधेका थिए । डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिबद्धता र अपुग रकमबारे जानकारी गराएका थिए । उनको कुरा सुनेपछि गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
भाटभटेनी सञ्चालक गुरुङले अस्पतालहरूमा सहयोग गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाएका थिए । उनले घरबाट निस्किँदा डा. कोइरालाको अभियानलाई २५ करोड रुपैयाँ सहयोग गर्ने मनस्थिति बनाएर व्यवसाय साझेदारसँग पनि सल्लाह गरेको बताए ।
‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई पनि २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ, तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरेँ,’ गुरुङले भने, ‘यहाँ आएपछि जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको छ ।’
ठूलो रकम सहयोग आउने सुनेपछि कोइरालाले पैसा नै नजुटाई देशभर बाल अस्पताल बनाउने अभियान सुरु गरेको, तर पछिल्लो समय सहयोग जुट्दै गएको बताए । उनले भाटभटेनीबाट प्राप्त ठूलो सहयोग रकम अस्पताल निर्माणका लागि कोसेढुंगा हुने भन्दै खुसी व्यक्त गरेको भाटभटेनी समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बिग भिजनलाई सम्पन्न गर्न मीनबहादुरजी पिलर बनेर आएको उनले बताए ।
डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ । ‘अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,’ उनले भने, ‘यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको पाएका छौँ ।’ उनले अहिलेसम्म जुटेको रकम सबै पारदर्शी रूपमा खर्च भइरहेको बताउँदै जुन प्रयोजनका लागि सहयोग आएको छ त्यहीँ मात्रै खर्च हुने बताए ।नयाँपत्रिका दैनिकमा खबर छ ।