गिरीबन्धु चिया बगानका मजदुरले पाएनन् ज्याला, गुहारे स्थानीय सरकार
झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानले आफ्ना मजदुरलाई ज्याला नदिएपछि सहयोगका लागि उनीहरूले स्थानीय सरकारलाई गुहार मागेका छन् । नौ हप्तादेखि ज्याला नपाएर समस्यामा परेका मजदुर सहयोग माग्दै सोमबार बिर्तामोड नगर प्रमुखको कार्यकक्षमा पुगेका हुन् ।
हप्ता हप्तामा ज्याला थापेर परिवार चलाउँदै आएका मजदुरहरूले लामो समयदेखि ज्याला नपाएपछि चुलो बल्ने अवस्था नभएको बताएका छन् । तीन पुस्तादेखि गिरीबन्धु चिया बगानमा मजदुरको रुपमा काम गर्दै आएका केवल मगरले नियमित ज्याला नपाउँदा घर चलाउनै समस्या भएको बताए । पाँच जनाको परिवार भएका मगरले एक्लो कमाइले घर चलाउनु पर्ने बाध्यता रहेको बताए । ‘घरमा पाँच जना छौँ,’ उनले भने, ‘मेरो एक्लो कमाइले घर चलाउँदै आएको थिएँ तर, लामो समयदेखि ज्याला नपाउँदा घरमा भात नपाक्ने अवस्था भयो ।’
नगरपालिकाले ज्याला दिलाइदिन्छ भन्ने आशाले आएको बताउने अर्का श्रमिक विष्णु दर्जीले घरमा चुलो बल्ने अवस्था नभएको बताए । उनले भने, ‘दुई महिनाभन्दा धेर भयो पैसा नपाएको, हामी भोकै बस्नु परेको छ ।’ बगानले दैनिक पाँच सयका दरले ज्याला दिने र त्यसबाट कोषमा रकम काट्ने गरेको श्रमिकहरू बताउँछन् । नगरपालिकामा यस अघि नै यसबारे जानकारी गराएको बताउँदै समस्या सहजीकरण गरिदिन आग्रह गर्दै २१ जना मजदुरले सोमबार नगरप्रमुख पवित्रा महतारा प्रसाईँलाई भेटेर आफ्ना समस्या सुनाएका थिए ।
लामो समयदेखि ज्याला नपाएर समस्यामा परेका मजदुरलाई व्यवस्थापनले काम नभएको भन्दै दुई हप्तादेखि काम विहीन बनाएको छ । ‘बगानमा काम पर्याप्त छ, तर हामीलाई काम नभएको भन्दै व्यवस्थापनले १६ दिनदेखि काम विहीन बनाएर राखेको छ,’ नेपाल चिया कफी श्रमिक युनियन गिरीबन्धु इकाई कमिटी सचिव सावित्रा बञ्जराले जानकारी दिइन् । व्यवस्थापनमा आफ्ना कुरा राख्दा नाफा नभएको भन्दै बगान बन्द गर्ने धम्की दिने गरेको उनले बताइन् ।