‘सतीदेवी’को ट्रेलर रिलिज
कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई ट्रेलरमा देखाइएको छ ।
यो फिल्ममा अभिनेत्री मलिका महत गाउँले चरित्रमा छन् । ट्रेलरमा उनको अभिनय मनछुने लाग्छ । छोराको चाहना गरेका बुबाको खुसीका लागि उनको पात्रले उठाएको एउटा कदम र त्यो घटनाले कालोमोसो र जुत्ताको माला लगाएर गाउँबाटै निकाला हुनुपरेको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ । छोरीहरुको वेदना, आमाको रोदन र बुबाको पक्षतापलाई पनि ट्रेलरले देखाउँछ ।
मलिकालाई यो फिल्मले समाजलाई ऐना देखाएको छ भन्ने लाग्छ । फिल्म हेर्दा धेरैले आफ्नै भोगाई महसुस गर्ने उनको विश्वास छ । निर्देशक लक्ष्मण सुवेदीले फिल्ममा मनोरञ्जन र सन्देश दुवै रहेको जिकिर गरे । समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा फिल्मले परिवर्तन ल्याउने उनको दावी छ । आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई नै फिल्ममा उठाएको उनले बताए ।
निर्देशक सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ । बाबु श्रेष्ठले छायांकन रहेको यो फिल्मले केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ । त्यसैले फिल्म विशेष बनेको हुनसक्ने अपेक्षा गरिएको छ ।