धुलिखेल पनि हेलिकोप्टरमा पुगे प्रधानमन्त्री ओली
काभ्रे । करिब ३० किलोमिटर टाढाको धुलिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी ओली हेलिकोप्टरबाट गएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहेका उनी हेलिकोप्टरमा गएका हुन् । विश्वविद्यालयकी सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराई भने करिब आधा घण्टाको दूरीको सोही कार्यक्रममा गाडीमै पुगिन् ।
मन्त्री र प्रशासकलाई मितव्ययिता अपनाउँदै आर्थिक अनुशासन कायम गर्न निर्देशन दिने प्रधानमन्त्री ओली यति नजिकैको कार्यक्रममा हेलिकोप्टरमा आउजाउ गरेकोमा आलोचना भइरहेको छ । दीक्षान्त समारोहका लागि उनी सेनाको एनए ०६७ कलसाइन हेलिकोप्टरमार्फत बिहान धुलिखेल पुगेका थिए । ११ः११ मा काठमाडौं विश्वविद्यालयको हेलिप्याडमा ल्यान्ड भएपछि प्रधानमन्त्री ओली केयूको हाइड्रोजन कार चढेर सय मिटरहाराहारीमा रहेको विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका थिए । नयाँ पत्रिकामा खबर छ ।