विपक्षी दललाई हतोत्साही बनाउन उपसभामुखलाई हटाउन खोजियो : प्रतिपक्ष दलका नेताहरु
काठमाडाैं । नेकपा(एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरुलाई हतोत्साही गर्नका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले यस्तो बताउनुभएको हो ।
उहाँले उपसभामुखलाई हटाउने कुरा निन्दनिय भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरु काँग्रेस र एमालेभित्रै रहेका भन्दै उहाँले उनीहरुलाई छानविन गरी कारबाही गर्न माग गर्नुभयो । उहाँले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताउनुभयो । उहाँले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन खोजिएको बताउनुभयो । उहाँले सरकारको स्वेच्छाचारी कदमलाई संवैधानिक परिषद्ले स्वीकार्ने परिस्थिति बनाउनका लागि सत्तारुढ दल लागिपरेका बताउनुभयो । उहाँले उपसभामुखको कदमको छानविन गर्न सकिने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताउनुभयो । उहाँले महाअभियोग लगाए सत्तारुढ दलहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो । उहाँले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको बताउनुभयो ।
उहाँले उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरुमा पनि आतंक सिर्जना गर्न खोजिएको बताउनुभयो ।