कोशीको संसदीय समितिमा टुंगियो भागबण्डा
विराटनगर । कोशी प्रदेशसभाको संसदीय समितिको सभापतिमा भागबण्डा टुङ्गो लागेको छ ।सातवटा संसदीय समिति रहेको कोशीमा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची छ । कांग्रेस र एमालेले बुधबार सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएको हो ।
कांग्रेस र एमालेले ३–३ वटा लिने सहमति भएको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भागबण्डा गर्दा माओवादीलाई एउटा समिति सभापति दिइएको उनले बताए ।कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
उनका अनुसार एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिनेछ । नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिको नेतृत्व लिने सहमति छ ।
माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउने
प्रदेशमा माओवादी केन्द्र २, राप्रपा र एकीकृत समाजवादी पार्टीले पनि १–१ समितिको नेतृत्वमा दाबी गरेका थिए । तर सत्तारुढ दुई दलले आन्तरिक भागबण्डा मिलाउने भन्दै साना दललाई सभापति दिएनन् ।
२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो ।
सभापतिको छनोटका लागि भदौ २८ गते निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यसूची अनुसार बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।