सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र पूर्वाधार विकास भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभयो । पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष भएको पनि बताउनुभयो । राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने दाबी गर्नुभयो । पूर्वाधार भौतिक संरचना मात्र नभइ अर्थतन्त्रको जीवन र भविष्य निर्माण गर्ने जग भएको बताउनुभयो । नेपालमा आर्थिक वृद्धि र सामाजिक विकासलाई बढावा दिन पूर्वाधार क्षेत्र अत्यावश्यक रहेको पनि बताउनुभयो ।
पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । संघीयतासँगै पूर्वाधारको आवश्यकता बढेको बताउनुभयो । तीनै तहका सरकारबीचको सहकार्य निकै बलियो भएको भन्दै आर्थिक समृद्धितर्फको साझा लक्ष्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारका पूर्वाधार आवश्यकतालाई सुव्यवस्थित बनाउन सकिने बताउनुभयो । राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्तालाई ह्यान्डहोल्डिङ सेवा उपलब्ध गराउन सरकार सधैँ तत्पर रहेको बताउनुभयो ।