कस्ता हुन् बुद्ध र यती एयरलाइन्सले उडाइरहेका एटिआर जहाज?
पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको एटिआर विमान दुर्घटना भयो। दुर्घटनापछि सामाजिक सञ्जालमा पुराना जहाज उडाएको भन्दै एकथरीले वायुसेवा कम्पनीहरूमाथि आक्रोश पोखे। त्यस्तै अर्काथरीले यात्राका लागि सुरक्षित र ठूलो जहाज मानिएको एटिआरमाथि पनि प्रश्न उठाए।
हामीकहाँ हाल उडान गरिरहेका एटिआर विमान कस्ता हुन्? कति वर्ष पुराना छन्? यी विमानको आयु कति वर्ष हुन्छ अर्थात् कति समय/वर्ष उडेपछि यी जहाज काम नलाग्ने (ग्राउन्डेड) हुन्छन्? यिनै विषयमा हामीले हवाई क्षेत्रका प्राविधिक विज्ञहरूसँग कुरा गरेका छौं।
उनीहरूका अनुसार हामीकहाँ उड्ने एटिआर विमानहरू फ्रान्समा बनेका हुन्।
एटिआर एयरक्राफ्टको स्थापना सन् १९८१ मा भएको हो। उक्त कम्पनीले सन् १९८४ मा एटिआर-४२ बाट पहिलो उडान गरेको थियो। त्यसको करिब दुई वर्षपछि, सन् १९८६ मा एटिआर-७२ सार्वजनिक गर्यो। यो विमानले सन् १९८८ को अक्टोबरमा पहिलो उडान गरेको हो।
हाल कम्पनीले यिनै दुई मोडलका विभिन्न संस्करणका जहाज उत्पादन गरिरहेको छ। कम्पनीले हालसम्म सय वटाभन्दा बढी मुलुकका दुई सय वटाभन्दा धेरै एयरलाइन्स कम्पनीलाई आफ्नो जहाज बिक्री गरिसकेको छ।
अहिले एटिआर एयरक्राफ्टले एटिआर ४२- ६००, एटिआर ४२- ६०० एस (स्टोल), एटिआर ७२- ६०० र एटिआर ७२- ६०० एफ (फ्राइटर) गरी चार मोडलका जहाज बनाइरहेको छ। एटिआर-६०० को उत्पादन सन् २००७ देखि भएको हो। कम्पनीले यसअघि एटिआर ४२- ३२०, एटिआर ४२- ५०० र एटिआर ७२-५०० शृंखलाका जहाज उत्पादन गरेको थियो।
एटिआर- ४२ र ७२ का ६०० विभिन्न संस्करणहरू उत्पादन भइरहँदा नेपालमा अझै दुई दशकअघि बनाइएका एटिआर ४२- ३२० र एटिआर ७२- ५०० उडानमा छन्।
बुद्ध र यती एयरलाइन्सले यी जहाज उडाइरहेका छन्।
बुद्धले तीन वटा एटिआर ४२- ३२० र ११ वटा एटिआर ७२- ५०० मोडलका कुल १४ वटा विमान उडाइरहेको छ।
यतीले सन् २०१९ मा एटिआर विमान भित्र्याएको हो। यतीले उडान सुरू गरेको एन ‘९ एएनजी’ एटिआर ७२- ५०० विमान सन् २००७ मा उत्पादन भएको हो। उक्त विमानले उडान थालेको १६ वर्ष भयो। यो सँगै हाल यतीले दसदेखि १५ वर्ष पुराना पाँच वटा एटिआर ७२- ५०० विमानमार्फत उडान भरिरहेको छ।
अहिले उडानमा रहेका एटिआर जहाजमध्ये सबभन्दा पुराना बुद्धसँग छन्। बुद्धले उडाइरहेको ‘९ एन एआइटी’ एटिआर ४२- ३२० जहाज सन् १९९६ मा उत्पादन भएको हो। यसले उडान थालेको २७ वर्ष भयो। नेपालमा भने यो जहाजले सन् २००८ सेप्टेम्बरबाट उडान सुरू गरेको थियो।
बुद्धकै अर्को विमान ‘९ एन एजेओ’ एटिआर ७२ -५०० विमान सन् १९९७ मा बनेको हो। यो विमान उत्पादन भएको पनि २६ वर्ष भयो। बुद्धले भने सन् २०११ बाट यो विमानमार्फत उडान गरिरहेको छ। यीसँगै बुद्धसँग हाल १३ देखि २७ वर्षअघि उत्पादन भएका एटिआर विमान छन्।
उडान सुरू गरेका दुइटा एटिआर (४२-३२०, ७२-५००) ले आगामी डेढ वर्षसम्म उडान भर्ने कम्पनीले जनाएको छ। त्यसपछि भने दुबै जहाजको उडान आयु सकिने र यिनबाट उडान बन्द गरिने बुद्धका इञ्जिनियरिङ विभागका निर्देशक मंगेश थापा बताउँछन्। उनका अनुसार आयु सकिएका जहाजले उडान गर्न पाउँदैनन्।
‘यी दुई एटिआरले उडानमा ६३ हजार साइकल (चक्र) मारिसकेका छन्,’ उनले सेतोपाटीसँग भने, ‘अबको डेढ वर्षपछि यी जहाजले उडान भर्दैनन्। त्यसमा रहेका इञ्जिन, पखेटा, ल्यान्डिङ गियर लगायतका सामग्री भने पुन: प्रयोग गर्न मिल्छ।’
निर्माता कम्पनीले जहाजको आयु तोकको हुन्छ।
निर्देशक थापाका अनुसार एटिआर विमानको आयु ७० हजार चक्र हुन्छ। कुनै पनि जहाज एकपटक उडेर अर्को विमानस्थलमा अवतरण गर्नेसम्मको अवधि एक चक्र हो। एकपटक इञ्जिन चलेर बन्द हुँदा विमानको एक चक्र अवधि पूरा हुन्छ।
विमानमा प्रयोग भएका उपकरण र मेसिनको आयु तीन कुरामा निर्भर हुने उनले बताए।
पहिलो उडान घन्टा, दोस्रो चक्र र तेस्रो अवतरण।
विमानको संरचना, त्यसमा जडित उपकरण, पार्टपुर्जा, इञ्जिन, ल्यान्डिङ गियर आदि सबैको सरसर्ती अवलोकनदेखि सूक्ष्म जाँच हुन्छ।
‘प्रत्येक दिन उडान सुरू हुनुअघि र उडान सकिएपछि जहाजको जाँच हुन्छ,’ थापाले भने, ‘जाँचका क्रममा सामान्य समस्या भएमा तत्कालै मर्मत गर्नुपर्ने हुन्छ।’
जहाज उत्पादन भएदेखि उडान गर्दा प्रत्येक उडानअघिका सुरक्षा मापदण्ड हुन्छन्। ती सबै मापदण्ड पालना गर्नुपर्छ। साथै नियमित जाँच र परीक्षण हुने उनी बताउँछन्। निश्चित तालिकामा पार्टपुर्जा परिवर्तन गर्नुपर्छ। यसरी तोकिएका मापदण्डअनुसार काम भएमा जहाज सुरक्षित हुने उनले जानकारी दिए।
विमानको इञ्जिन र सम्पूर्ण सामग्रीको आयु निश्चित हुन्छ। निर्देशक थापाका अनुसार कुनै बेला विमानमा केही समस्या देखियो र सामग्री तत्कालै परिवर्तन नगर्दा पनि उडान गर्न मिल्छ। तर यस्तोमा जहाजमा आवश्यक आधारभूत सामग्रीहरू (मिनिमम इक्युपमेन्ट) ठीक हुनुपर्छ।
‘एटिआरले ७५० घन्टा उडान अवधि पूरा गर्दासम्म त्यसको सबै भाग परीक्षण गरिसक्नुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘यसलाई वन-ए-सेड्युल मेन्टिनेन्स भनिन्छ। कतिपय अवस्थामा जहाजमा केही खराबी देखियो भने तत्कालै नजिकैको विमानस्थलमा अवतरण गरेर पनि मर्मत गर्नुपर्ने हुन्छ।’
उनका अनुसार कुनै पनि जहाज उडाउनुअघि प्राविधिक जाँच हुन्छ। पाइलट ककपिटमा बस्नुअघि प्राविधिकहरूले विमानको जाँच गर्छन्। प्राविधिकले जाँच गरेको ठीक छ कि छैन भनेर फेरि इञ्जिनियरले हेर्छन्। त्यसपछि मात्र पाइलटलाई जहाज उडाउन अनुमति दिइन्छ।
यसपछि पाइलटले जहाज उडानका लागि उपयुक्त छ भने लिखित रूपमा आफ्नो हस्ताक्षरसहित स्वीकृति पत्र बुझाउनुपर्ने निर्देशक थापा बताउँछन्। यस्तो कामका लागि सबै वायुसेवाले विमानस्थलमा छुट्टै विभाग खडा गरेका हुन्छन्।
त्यस्तै कुनै बेला उडानअघि पाइलटले समस्या देखेमा विमान ह्यांगर (विमान मर्मत हुने ठाउँ) मा लगेर मर्मत गरिन्छ। बुद्धसँग हाल २६० जना प्राविधिक इञ्जिनियर छन्। यसले एटिआर भित्र्याइसकेपछि यसको सम्पूर्ण मर्मत, जाँच, परीक्षण लगायत आफैं गर्दै आएको उनले बताए। नेपालमा सम्भव नभए मात्र बाहिरी मुलुकका मर्मत केन्द्रमा पठाउने गरेको छ।
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौला पनि सबै जाँच गरेर मात्र उडान हुने बताउँछन्।
‘हरेक दिन, हरेक उडान सकिएपछि विमानको सामान्य जाँच हुन्छ,’ उनले भने, ‘सम्पूर्ण जाँचका लागि धेरै दिन लाग्ने देखिएमा ह्यांगरमा राखेर मर्मत गरिन्छ।’
यतीसँग हाल एटिआर विमान राख्ने ह्यांगर छैन। त्यसकारण यतीका एटिआरमा समस्या देखिए नेपालगञ्ज विमानस्थलमा लगिने प्रवक्ता बर्तौलाले बताए।
‘नेपालमा उडिरहेका सबै जहाजलाई हुने ह्यांगर नेपालगञ्जमा छ। कहिलेकाहीँ मर्मतका लागि धेरै दिन लाग्ने हुन्छ। त्यस्तो अवस्थामा नेपालगञ्ज विमानस्थलको ह्यांगर लगिन्छ,’ उनले भने।
यतीसँग सयभन्दा धेरै जना प्राविधिक इञ्जिनियर भएको उनले जानकारी दिए। सामान्य जाँच र सरसामग्री फेरबदल गर्नु परेमा प्राविधिकले नै गर्छन्। कुनै ठूलो समस्या भएमा सम्बन्धित वायुसेवा कम्पनीले निर्माता कम्पनीलाई खबर गर्छन्। प्रवक्ता बर्तौलाका अनुसार निर्माता कम्पनीलाई नसोधी र नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई कुनै पनि सामग्री फेर्न मिल्दैन।
‘सामान्य समस्या देखिएमा हामी यहीँ समाधान गर्छौं। तर कतिपय समस्याहरू जटिल पनि हुन्छ। त्यस्तो अवस्थामा निर्माता कम्पनीबाटै पनि प्राविधिक ल्याउनुपर्ने हुन्छ,’ उनले भने।
यीबाहेक समय तालिकाअनुसार नियमित जाँच र मर्मत भएमा जहाज उडानयोग्य हुने उनको भनाइ छ।
Source : Setopati