बाह्रदशीको फूलवारीमा अर्को अपराधः राजवंशीले रडले हानेर गरे छिमेकीको वीभत्स हत्या
झापा , मंसिर २ । राजेश हजाम हत्याकाण्ड भएको डेढ महिना नवित्दै झापाको बाह्रदशी– ५ फूलवारीमा अर्को अपराध भएको छ ।
गएराति पूर्व रिसिबीका कारण फूलवारीकै एकजनाले रड प्रहार गरी छिमकीको हत्या गरेका छन् । घटना राति ९.२० बजेतिरको हो । घरमा आएका छिमकी ४५ वर्षीय गंगालाल माझीलाई फूलवारीकै अन्दाजी २७ वर्षीय मानकुमार राजवंशीले रडले प्रहार गरी वीभत्स हत्या गरेका हुन् । राजवंशीले रडले माझीको टाउकोमा हान्दा गिदी बाहिर निस्किएको छ । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याईपुर्याउँदा उनको बाटैमा मृत्यु भइसकेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार माझीले राजवंशीलाई ‘हान्छु मार्छु ’ भनेर धम्की दिँदै आएका थिए । राति आफ्नो घरमै पुगेका माझीले त्यसरी नै धम्क्याएपछि आफूले रड प्रहार गरेको राजवंशीले प्रहरीलाई बयान दिएका छन् । पूर्व रिसिबीका कारण राजवंशीले छिमेकी माझीको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले राति नै राजवंशीलाई पक्राउ गरिएको जानकारी दिए । मृतक माझीका श्रीमती र तीन जना नाबालक सन्तान रहेका छन् ।