टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा । टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि सुनसरीको हरिनगरा बजारमा तनाव भएको छ ।
आज दिउँसो १.१० बजे हरिनगरा गाउँपालिका ४ हरिनगरा बजारमा को १ ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री देबानगञ्ज ७ बस्ने ४५ वर्षीय झल्लु उरावको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीय बासिन्दाले टिपरलाई तोडफोड गरेका छन् । करिव २०० जना स्थानीय भेला जम्मा भई शव उठाउन दिएका थिएनन् ।
आक्रोशित भीडले टिपरमाथि ढुङ्गामुडा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । साँझ ५ बजे उक्त टिपरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ लगिएको र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा शवलाई पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ ।