पक्राउ परेका पूर्व मेयर शिवाकोटीले आफ्नै घरमा राखेको नाबालिकालाई करणी गरेको आरोप
झापा, मंसिर २४ । आफ्नै घरमा राखेको नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेको खुलेको छ ।
करिब ८ बर्ष अघिदेखि शिवाकोटीको बिर्तामोड–५ स्थित घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी १७ बर्षिया नाबालिकालाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ ।
बाबुको मृत्यु भएपछि ती किशोरी बिर्तामोडस्थित एक आफन्तकोमा बस्दै आएकी थिइन् । शिवाकोटीका टाढाका आफन्त पर्नेका घरमा बस्दै आएकी किशोरीलाई आफ्नो घरमा राखेर पढाउने भनेर शिवाकोटीले लिएर गएका थिए ।
बाबुको मृत्यु भएपछि काँकडभिट्टामा रहेका आफन्तकोमा बस्दै आएकी उनकी आमाले पनि दोस्रो विवाह गरेकी छन्। दोस्रो विवाह गरेर उनी भारतको आसाममा बस्दै आएकी छन् ।
स्थानीय एक बिद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटक पटक करणी गरेको बताइएको छ । शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी उनी भागेर भारतको आसाम जान लागेकी थिइन् । काँकडभिट्टा गेटमा शंकास्पद रुपमा भारत जान लागेकी उनलाई माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । संस्थाका एक प्रतिनिधिका अनुसार स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यहि घरमा जानुपर्छ भनेर अतालिएकी थिइन्। फकाएर सोधीखोजी गर्दा शिवाकोटीको कर्तुतका बारेमा खुलेको उनले जानकारी दिए ।
सोधपुछका क्रममा शिवाकोटीको जवरजस्ती करणी गर्ने गरेका कारण नेपालमा बस्न नसकेको प्रतिक्रिया दिएकी थिइन् । त्यसपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । शिवाकोटी हाल इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा छन् । पीडित किशोरीकी हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा पनि उजुरी दिएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकामा निर्वाचित भएका थिए ।