झापा कपको अन्तिम सेमिफाइनलमा आज राष्ट्रिय जागृति र एनआरटी खेल्दै
झापा । प्रथम झापा कप २०८१ को अन्तिम सेमिफाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र न्यु रोड टिम (एनआरटी) बीच हुँदैछ ।
पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब भारतीय टिम जिटिए दार्जिलिङलाई रोक्दै सेमिफाइनलमा पुगेको हो ।
गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो ।
मंसिर अन्तिम साता भएको इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाडौँ जिल्ला लिग विजेता चित्लाङलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । पाँचपटकको ए डिभिजन लिग च्याम्पियन एनआरटी गत सिजनको मकवानपुर गोल्डकपको उपविजता टिम हो ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।