| |

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा

शम्भु दाहाल

काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेका छन् ।

पूर्वीनाका काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । भारतबाट नेपाल आउने साना सवारी मोटरसाइकल र ४ चक्के सवारीलाई नजिकको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) काट्दा हुन्छ । यसको कुनै रकम लाग्दैन । त्यसबाहेकका अन्य क्षेत्रमा जान भने दैनिक भन्सार तिर्नुपर्ने हुन्छ । तर, हरेक दिन सुविधा काट्ने भारतीय सवारीसँग भन्सारका कर्मचारीले अवैध असुली गर्दै आएका छन् ।

झापाका सिमाना नजिकका नेपालीले भारतीयकै नाममा सवारी साधन किनेर नेपालभित्रै भन्सार नगरी सुविधा मात्र लिएर दैनिक कुदाउने गरेका छन् । घरैमा ह्वाट्सएपमार्फत सुविधा पठाएर असुल्ने गरेको पाइएको छ । यस विषयमा मेची भन्सारका प्रमुख रामप्रसाद रेग्मीले नेपालीले भारतीय सवारी ल्याउन नपाउने बताए । उनी भन्छन्,’नपालीले भारतीय गाडी त किन लिन पाउलान् र ? कानुनअनुसार त नेपालीले भारतीय गाडी त लिन पाउँदैन ।’
भारतबाट नेपाल प्रवेश गर्ने सवारीबाट कागज मिलाउने भन्दै कर्मचारीले प्रति सवारी २० रुपैयाँ देखि ५० रुपैयाँसम्म लिने गरेका छन् । बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । सुविधा नि:शुल्क छ भन्ने सवारी धनीलाई थाहा नभएकोले ठगिने गरेको स्थानीय बताउँछन् ।

कर्मचारीले कागज छाप्न भन्दै आफूहरूबाट पैसा लिने गरेको एक सवारीधनीले बताए । सुविधाको विषयमा मेची भन्सारका प्रमुख रामप्रसाद रेग्मीेले यात्रु लिएर आएका गाडीहरू सोही दिन फर्कने गरी नजिकको बजारसम्म जान पाउने र त्योबापत कुनै पैसा नलाग्ने बताए । नेपालभरि कुद्नका लागि भने भन्सार काट्दा भने ४ पाग्रे जिप, कार र भेनको प्रतिदिन ६ सय रुपैयाँ र दुई पाग्रेको २ सय रुपैयाँ लग्ने बताए ।
यसरी हरेक दिन कर्मचारीले सयौँ सवारीबाट हजारौँ रकम असुल्दासमेत मेची भन्सार कार्यालय मौन रहेको छ । यो अवैध रूपमा सङ्कलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सीधै कर्मचारीको गोजीमा जाने गरेको छ ।

नाकामा अवैध असुलीको श्रृङखला

आयत-निर्यातका लागि कोशी प्रदेशकै सबैचन्दा ठूलो नाका काँकरभिट्टाको मेची भन्सारबाट दैनिक लाखौँ रुपैयाँ राजस्व छलिने गरेको छ । भन्सार कार्यालयले भन्सार भित्रने सामानमा राजस्वछली नहोस् भनेर कर्मचारी बाटो-बाटैमा तैनाथ गर्ने गरे पनि राजस्व चुहावट नियन्त्रण गर्न सकेको छैन । कार्यालयले फिल्डमा खटाएका कर्मचारीहरूले नै सामान लिएर वारिपारि गर्ने व्यापारीसँग मनपरी रकम लिएर छोडिदिने गरेका छन् । उनीहरूले व्यापारीसँग मात्र हैन घरका लागि भारतको पानिट्याङ्कीबाट सामान लिएर नेपाल भित्र्ने सर्वसाधरणसँग समेत रकम असुल्न भ्याउँछन् ।

भन्सारका कर्मचारीले चेकपोष्टमा कागज मिलाउने बहानामा साना व्यपारीलाई बोलाएर रकम लिने गरेका छन् । त्यस्तै भारतबाट नेपालमा आउने मालबाहक ट्रकहरूबाट समेत उनीहरूले पैसा उठाउने गरेको खुलेको छ । भन्सारका कार्यालय सहयोगीहरूले नेपालमा आउने ट्रकहरू भारत फर्किने क्रममा गेटमा नै प्रति ट्रक ५० देखि १०० रुपैँयासम्म असुल्ने गरेका छन् । त्यति मात्र होइन उनीहरूले ट्रक चालक, पोके व्यापारी, तरकारी ल्याउने व्यापारीलगायतसँग उनीहरूले ल्याएको सामानसमेत केही छोडिदिनुपर्ने वा उनीहरूले भनेको सामान ल्याइदिनुपर्ने सिस्टम नै भन्सारका कर्मचारीहरूले बनाएका छन् ।
सर्वसाधारणहरू दैनिक उपभोग सामान चिनी, दाल, तरकारी, तेललगायतका सामान लिने जाने गरेका छन् । यसरी सामान ल्याउँदा कर्मचारी पैसा माग्ने र नदिए सामान पक्राउ गर्ने डर देखाउँदै पैसा तिर्न बाध्य बनाउने गरेको बिर्तामोडका एक सर्वसाधारणले बताए । ‘कर्मचारीलाई पैसा नदिए सामानै लगिदिन्छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘बरू सय/पचास दियो खुरुक्कै छोड्छन् ।’

कर्मचारीले वारिपारि गर्नेसँग सामानको परिमाण हेरी ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म लिने गरेका छन् । मेची भन्सार कार्यलयले चोरीपैठारी नियन्त्रण गर्न कर्मचारीको विभिन्न समूह विभाजन गरी अध्यागमन अगाडि रहेको चेकप्वाइन्टमा खटाउने गरेको भए पनि उनीहरू राजश्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न भएको कुरा मेची भन्सारको गेटमा पुग्ने प्रत्येक व्यक्तिले देख्न सक्छन् भने धेरैले त अनुभूति नै गरिसकेका छन् ।

Similar Posts