| |

 बिर्तामोडको ‘ग्याङ फाइट’? यस्तो छ कारण

बिर्तामोड । झापाको बिर्तामोडमा आज बिहान खुकुरीसहित पक्राउ परेका युवाहरू बदला लिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भद्रपुर रोडको बस स्टेण्डबाट प्रहरीले पक्राउ गरेका ४ जनामध्ये दुई जना बदला लिने नियतले भद्रपुरबाट बिर्तामोड आएको प्रहरीले जनाएको छ ।

प्रहरीले भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दीपेश पुन मगर र २२ वर्षीय रोहण लिम्बूलाई नियन्त्रणमा लिएको थियो । रोहण र आदित्य भने कलेजमा फर्म भरेर जाने क्रममा प्रहरीको फन्दामा परेका हुन् । सन्जोग र दीपेशसँगै भेटिएका कारण उनीहरूलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बुझिएको छ ।

सन्जोग र दीपेशले एक साता अघि आफूहरूमाथि कुटपिट भएको प्रहरीलाई बयान दिएका छन् । उनीहरूले त्यसैको बदला लिन बिहानै कनकाई कलेज आएका थिए । तर, कलेजमा विद्यार्थीको सङ्ख्या धेरै भएकाले झगडा गर्न पाएनन् । ‘कलेजबाट उत्तर तर्फ देवी स्कुल नजिक झगडा सुरु भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने – ‘यहाँ झगडा नगर भन्दै लखेटिएको थियो ।’ उनीहरूलाई खेदाउँदै गएका रहेछन् ।’

खुकुरी लिएर बदला लिन आएका सन्जोग र दीपेश भागेर भद्रपुर रोडको बस स्टेण्ड पुगेका थिए । तर, खेदाउने अन्य विद्यार्थीहरूले उनीहरू चढेको छोटा हात्तीको चाबी खोसेर नियन्त्रणमा लिइसकेका थिए । नियन्त्रणमा लिने युवाहरू प्रहरी आएको देखेर भागेपछि खुकुरी बोकेर गाडीमा बसेका युवाहरू पक्राउ परेका हुन् ।

प्रहरी समयमै पुगेका कारण ठुलो दुर्घटना हुन सकेन । स्थानीय भन्छन्, प्रहरीले ५ मिनेट ढिलो गरेको भए जे पनि हुन सक्थ्यो । खुकुरी लिएर झगडा गर्न आएका युवाहरूले ‘तर्साउन’ मात्रै आएको प्रहरीले बताएको बुझिएको छ । प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

Similar Posts