सहकारी चोरी गर्ने एक वर्षपछि पक्राउ
बिर्तामोड । झापा हल्दिबारीको एकता बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको घटनाका एक आरोपीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा २०७९ साल माघ २० गते चोरी भएको उजुरीका आधारमा सर्लाहीकै सुजित आलेलाई पक्राउ गरिएको हो ।
घटना भएको करिब ११ महिनापछि आलेलाई पक्राउ गरी अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । २०७९ साल माघ २० गते उक्त सहकारीको मुख्य गेट र भल्ट (सेफ) फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । घटनापछि आरोपित आले भारतमा लुकेर बसेका थिए । घर आएको मौकामा उनलाई पक्राउ गरिएको हो ।
सहकारीको सिसी क्यामेरा फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोलीले आलेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए । ‘सिसी क्यामेरा फुटेजमा चोरीमा संलग्न २ जना देखिएका छन् , अर्का व्यक्तिको पनि खोजी भइरहेको छ,’ उनले भने ।