पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ बनेका यी लोपोन्मुख गिद्ध!

उनीहरूकै बास र आकाशमा बनाइयो विमानस्थल, अहिले धपाउन परेको छ मुस्किल

मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा आएका छन्। 

खैरो गिद्ध मात्र होइन, मंगोलियाबाट राज गिद्ध अर्थात इजिप्टर मोनाकर, गुमायु महाचील अर्थात स्टिपिगल लगायतका मांसहारी चरा पनि जाडो छल्न पोखरा आएका छन्। विभिन्न देशबाट लामो यात्रा गरेर पोखरा आएका विविध प्रजातिका मांसहारी चरामध्ये गिद्ध जाडो यामभरी पोखरा बस्ने गरेको पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल बताउँछन् 

नेपालमै पाइने ९ प्रजातिका गिद्ध पोखरा र पोखरा आसपासमा पाइन्छन्। विदेशबाट आउने होस् वा रैथाने। पोखरामा भेटिएका सबै प्रजातिका गिद्ध लोपोन्मुख सुचीमा छन्।

लामो यात्रा गरेर आएका र रैथाने गिद्धहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपर उडिरहेको भेटिन्छ। विमानस्थल अधिकारीहरू गिद्धले विमानस्थलमा हैरानी गर्ने भयो भन्ने ठानिरहेका छन्। तर गिद्धहरूको त उड्ने ठाउँ नै यहीँ हो।

किनभने बर्षेनी जाडो छल्न हुल बाँधेर आउने गिद्ध लगायत मांसहारी चराहरू वर्षौंदेखि पोखरा आएर घाम तापेको चउरमा यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। गिद्धका बस्तीमा हवाइजहाजले उडान–अवतरण भर्न बल्ल थालेका हुन्। 

चराविदहरू भन्छन्-  अन्तर्राष्ट्रिय विमानस्थलले गिद्धका आहार क्षेत्र र बासस्थान दुबै अतिक्रमण गर्यो।

जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य कार्यक्रम गरी विमानस्थल उद्घाटन गरे। पोखराबाट विभिन्न गन्तव्यमा जान आधुनिक विमानस्थल संचालनमा आयो।

विमानस्थलका कारण गिद्धको साम्राज्य खलबलिएको भने कसैले चर्चा गरेनन्। विमानस्थलका सरोकारवाला सबैले कसरी गिद्धलाई यहाँ उड्नबाट रोक लगाउने भन्ने योजनामात्र बनाएका छन्। 

पोखराका रैथाने र जाडो छल्न विदेशबाट आएका गिद्ध  विमानस्थलको पूर्वतर्फ विजयपुर खोलाका आसपास विस्थापित भएका छन्। त्यहाँबाट पनि लखेट्न विमानस्थलले योजना बनाइरहेको छ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार गिद्ध लखेट्न गाडीसहित २ जना कर्मचारी खटाइएका छन्। उनीहरुले गाडी लिएर विमानस्थलका चारैतर्फ गिद्ध धपाउने काम गरेको गौतम बताउँछन्।

विमानस्थल आउने चरा लखेट्न स्वचालित बन्दुक राखिएका छन्। सेन्सर जडान गरेर विमानस्थलको आकाशमा आउने वित्तिकै बन्दुक आफैं पड्किन सक्छ। मान्छेले पड्काउन पनि सक्छ। विमानस्थल प्रमुख गौतमले भने, ‘गिद्धले दुख दिइराखेको छ, धपाउनलाई हामीले अनेक उपाय अपनाएका छौं।’

गिद्धले गुड बनाएको देखेर केही समयअघि मात्र विमानस्थलबाहिर व्यक्तिका जग्गामा रहेको अग्लो सिमलको रुख काटिएको पोखरा पंक्षी समाजका सचिव ढकाल बताउँछन् । यसरी रुख काट्दैमा विमानस्थलको सुरक्षा खतरा नहट्ने उनी बताउँछन् ।

‘सिमलका रुख काट्दैमा विमानस्थलको सुरक्षा खतरा हट्दैन,’ उनले भने, ‘गिद्ध तत्काल आफ्नो भूमि छाडेर अन्यत्र जाँदैनन्।’

विमानस्थल संचालनमा आउनुअघि पनि रनवेमा गिद्धका समूह देखिन्थे। विमानस्थलका विभिन्न टावरमा गिद्धले गुँड लगाएका थिए। कर्मचारीले टावरका गुँड क्रेन लगाएर भत्काइदिए।

अहिले विमानस्थलमा जहाज आउजाउ गरिरहेका छन्। आफ्नो पुरानो भूमि हेर्न गिद्ध पनि बेलाबखत विमानस्थलतर्फ जान्छन्। मान्छेले उनीहरुलाई बस्न त के उड्न पनि दिएका छैनन्।

विमानस्थल संचालनमा आएपछि पनि गिद्ध आउन नछाडेको भनेर विमानस्थलका कर्मचारीले बन्दुक पड्काएर लखेट्न थालेका छन्। गिद्ध लखेट्न ‘बर्ड स्केयरिङ डिभाइस’ अर्थात बन्दुक दैनिक ५०/६० पटक पड्काइरहेका छन्। विमानस्थलभित्र दिनहुँ बन्दुक पड्केका आवाजले नजिकै घर भएका स्थानीवासीसमेत हैरानीमा परेको बताउँछन्।बन्दुकको आवाजले मात्र गिद्ध डराएका छैनन्। गुलेलीले ताकेर मट्याङ्ग्रा हान्ने गरिएको छ।

गिद्धको बासस्थानमा एकैचोटी विमानस्थल चलाउँदैमा गिद्ध भाग्दैन भन्ने गौतमलाई थाहा छ। विमानस्थलको पश्चिमतर्फ बाच्छेबडुला ल्याण्डफिल साइटका कारण गिद्धले उडान सुरक्षामा खतरा पार्ने भन्दै ५ बर्षअघि नै पोखरा महानगरको ध्यानाकर्षण गराइएको थियो।

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले पटक-पटक गिद्धलाई विमानस्थलबाट बसाई सार्नका लागि ल्याण्डफिल साइट परिवर्तन गर्न भनेका थिए। समयमा महानगरले सुनेन। विमानस्थल संचालनमा आउनुभन्दा एक साताअघि मात्र पोखरा–३२ लामोआहालमा अस्थायी ल्याण्डफिल साइट राखिएको छ।

पोखरा पंक्षी समाजले पनि विमानस्थलबाट गिद्धको बसाई सार्न विभिन्न उपाय दिएका थिए। गिद्धलाई यसरी बसाई सार्न कम्तिमा ६ महिनादेखि १ बर्ष लाग्ने उनीहरुको सुझाव दिएका थिए । समय भइञ्जेल कसैले उनीहरुको सुझाव मानेनन्।

‘हामीले दिएको सुझाव विमानस्थल र पोखरा महानगरले सुनुवाई नै गरेन,’ समाजका अध्यक्ष मनशान्त घिमिरेले भने, ‘बन्दुक पड्काउँदैमा गिद्ध डराउँदैन, विश्वमै लोपोन्मुख गिद्ध सरकारले मार्न पनि पाउँदैन।’

पोखरामा बर्षौंदेखि चलिरहेको आन्तरिक विमानस्थल पनि पटक पटक गिद्धले अवरुद्ध पारिदएको छ। यही बर्ष मात्र गिद्ध लगायत चराका कारण १ घण्टासम्म आन्तरिक विमानस्थल पनि बन्द गर्नुपरेको विमानस्थल प्रमुख गौतमले बताए।

‘हामीले पुरानो एयरपोर्ट पनि चराका कारण एक घण्टा बन्द गर्नुपरेको थियो, यहाँ पनि त्यस्तै खतरा छ,’ उनले भने, ‘चराका आनीबानी परिवर्तन गर्न महानगर लगायत निकायले अग्रसरता लिनुपर्ने देखिन्छ।’

पोखरा पंक्षी समाजका सचिव ढकालले गिद्ध बस्ने सिमलका रुख काट्ने, गुँड फाल्ने जस्ता गतिविधी नगर्न आग्रह गरेका छन्। यसरी गिद्ध विमानस्थलबाट नभाग्ने भन्दै अन्य उपाय अपनाउन सुझाए।

विमानस्थललाई खतरा नहुने ठाउँमा गिद्धलाई आहारा दिएर आकर्षण गर्नुपर्ने उनले बताए। विमानस्थलको पूर्वतर्फका विजयपुर खोला, नाली लगायतका ठाउँमा मरेका जीवजन्तु आउन नदिन पनि उनले सुझाएका छन्।

‘विमानस्थलको सुरक्षा खतरा नहुने ठाउँ पहिचान गरेर यथेष्ट आहारा राखिदिनुपर्छ, यसले गिद्ध छिटो अन्यत्र बसाई सर्न सक्छ,’ उनले भने, ‘विमानस्थल वरीपरी आहारा पाइञ्जेल गिद्ध अन्यत्र जाँदैन।’

गिद्धका कारण विमानस्थलमा सुरक्षा खतरा भन्दा पनि मानवीय कारणले नै विमानस्थलको सुरक्षा खतरा बढेको उनको भनाई छ।

‘विमानस्थल सुरक्षाको समस्या विकराल हुँदै जानेवाला छ,’ उनले भने, ‘गिद्धलाई दोष दिने होइन, यसकारण सुरक्षा खतरा छ र यसलाई अन्यत्र सार्न सकिन्छ भन्दा पनि नमान्ने पोखरा महानगर दोषी देखिन्छ।’

गिद्ध मात्र होइन, हिउँद र बर्खायाममा विभिन्न देशबाट पोखरा घुम्न साना चराहरु, पानी चराहरु आउने गरेका छन्। पोखरामा रहेका तालतलैया, सिमसार क्षेत्र र खुला चउरले चरालाई आकर्षण गर्ने चराविद ढकालको भनाई छ।

‘गिद्धका बासस्थान र आहारक्षेत्रमा विमानस्थल बन्यो, उनीहरू मान्छेको अतिक्रमणमा परे,’ उनले भने, ‘त्यसरी नै सिमसार क्षेत्र र खुला ठाउँहरु अतिक्रमण तिब्र बन्दा चरालाई संकट आइलागेको छ।’

पोखरामा गिद्ध बस्ने मुख्य ठाउँ थियो, अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको ठाउँ। यो ठाउँ केही बर्ष अघिसम्म खुला मैदान थियो। फराकिलो मैदान झण्डै ५० बर्ष गौचरनमा सिमित थियो। फराकिलो घाँसे मैदान मान्छेका लागि काम दिन छाडेका घरपालुवा जनावर लगेर छाड्ने ठाउँमा परिणत भएको थियो।

यो गौचरनमा सडकमा लखेटिएका गाई पुग्थे। मुस्ताङबाट झरेका घोडा पुग्थे। मान्छेलाई काम नलागेका घरपालुवा जनावर विमानस्थल बनाउन राखिएको मैदानमा चर्दाचर्दै मर्थे। मरेका जनावर गिद्धका आहार थिए।

गिद्धले आँफै सिकार गर्दैन। प्रकृतिमा विभिन्न कारणले मरेका जीवजन्तुलाई आफ्नो आहार बनाउँछ। जमिनमा मरेका जनावरका सिनो खाइदिने भएकाले गिद्धप्रेमीले यसलाई ‘प्रकृतिका कुचीकार’ भनेर पुकार्छन्।

२०३१ सालअघि विमानस्थल भएको जमिनमा खेती गरिन्थ्यो। लहलह जेठोबुढो धान झुल्थ्यो। सेती र विजयपुर खोलाबाट सिँचाई पुर्‍याइएका थिए। पोखराको पुरानो विमानस्थल सानो भएको भन्दै २०३१ सालमा उक्त जग्गा विमानस्थलका लागि अधिग्रहण गरियो।

तत्कालीन अंचलाधीश शंकरराज पाठकले विमानस्थल बनाउन त्यतिबेलै ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरे। व्यक्तिका जग्गा राज्यको भयो। राज्यका जग्गामा कसैले बाली लगाउन पाएनन्। यसरी ४७ बर्षदेखि गौचरन बनेको थियो, हालको अन्तर्राष्ट्रिय विमानस्थल।

पोखराको विजयपुर खोलाबाट पश्चिमतर्फ लामो समय गौचरन बनेको फराकिलो मैदान गिद्धका आहार क्षेत्र भए। वरीपरीका सिमलका रुखमा उनीहरुले गुँड बनाए। देश विदेशका गिद्धले मुख्य गन्तव्य बनाएका थिए।

विमानस्थलबाट पश्चिमतर्फ रहेको बाच्छेबडुवा ल्याण्डफिल साइट माटो खन्याएर पुरिएका छन्। जहाँ पोखराभरीका फोहोर फालिन्थ्यो। फोहोरसँगै फालिएका जीवजन्तु गिद्धका आहार थिए।

विमानस्थलमा अब कुनै पनि जनावर छिर्न पाउँने छैनन्। ल्याण्डफिल साइट परिवर्तन गरियो। गिद्धले अब विमानस्थलको त्यो फराकिलो मैदानमा कुनै आहार भेटाउने छैनन्। विमानस्थलको आकाशमा उड्न पनि पाउने छैनन्।

Source : Setopati

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *