सुजनको शतकले पनि जोगिएन कोशी
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिनसम्म केही नियमित संयोगहरू छन् । लगातार चौथो दिनको खेलमा पनि शतक बनेको छ । यी सबै शतक त्रिवि क्रिकेट मैदानमा बनेका छन् । शतक बनाउने खेलाडी पहिला ब्याटिङ गर्ने टोलीका छन् ।
कोशी प्रदेशका सुजन थपलियाले शतक बनाउने सूचीमा मंगलबार आफ्नो पनि नाम लेखाए । उनले नेपाल पुलिस क्लबविरुद्ध १ सय ५ रनको इनिङ्स खेले । पुलिसका रसिद खान, नेपाल एपीएफ क्लबका सन्दीप जोरा र त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले पहिलो तीन दिनको खेलमा शतक बनाएका थिए । त्यस अर्थमा सुजन शतक बनाउने विभागीय टोलीबाहिरका पहिलो खेलाडी हुन् ।
पहिलो तीन दिन शतक बनाउने खेलाडीको टोली सबै विजयी भएको थियो । पुलिससँग कोशी ७ विकेटले पराजित भयो । एपीएफ, सुदूरपश्चिम र पुलिसले पहिलो दुवै खेलमा सफलता हात पार्दै पहिलो तीन स्थान ओगटेका छन् । कोशीले सबै तीन खेल हारेको छ ।
सुजनले १ सय २६ बल खेली ६ चौका र ८ छक्का प्रहार गरे पनि कोशी ४८.२ ओभरमा १ सय ६६ रनमै अलआउट भएको थियो । सुजनले चार छक्का पुलिसको टोलीमा फर्किएका कुशल भुर्तेलको बलमा प्रहार गरे । कोशीले ६३ रन बनाउँदा ७ विकेट गुमाइसकेको अवस्थामा सुजनले आठौं विकेटमा अभ्यास तिमिल्सिनासँग ९९ रनको साझेदारी गरे । सुजनलाई करण केसीले आउट गरेपछि यो साझेदारी टुटेको थियो । अभ्यासले ६४ बल खेली १ चौका र १ छक्कासहित २३ रन बनाए । आइस भट्टराई ४, सोनु अन्सारी शून्य, कप्तान अंकित सुवेदी १०, मिनास थापा २, फिर्दोस अन्सारी ९, सोनु मण्डल २ र समीर कार्की शून्यमा आउट भएपछि कोशी सुरुआतदेखि दबाबमा रहेको थियो । पुलिसबाट प्लेयर अफ द म्याच करणले ३ विकेट लिए । उनले ९.३ ओभरमा २ मेडन राख्दै २८ रन खर्चे । ललित राजवंशी र सुनील धमलाले २–२ तथा रसिद, सागर ढकाल र कुशलले १–१ विकेट लिए ।