आजदेखि यू- १९ विश्वकप क्रिकेट शुरु
काठमाडाैं । आइसीसी यू- १९ विश्वकप आजदेखि शुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार अपरान्ह १:४५ बजेदेखि शुरु हुनेछन् ।
दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् । यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।
नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्नेछन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्नेछ । अन्त्यमा दुवै समूहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।
विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । त्यस्तै समूह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।