किसानले पाएनन् दुध बिक्री गरेको ६ अर्ब
सरकारी स्वामित्वको डिडिसीले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा धेरै, एउटै जिल्लाका किसानको ६० करोड बक्यौता
काठमाडाैं । देशभरका किसानले दुध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ । सरकारी र अधिकांश निजी डेरी उद्योगले गत असोजदेखि किसानलाई दुधको पैसा दिएका छैनन् ।
दुध बिक्रीको ठूलो रकम बक्यौता रहँदा साना किसानलाई घरखर्च धान्नै गाह्रो भएको छ भने व्यावसायिक पशुपालन गर्ने किसान बैंकको किस्ता तिर्न र पशुआहारा खरिद गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् । त्यसमाथि खपत घटेको भन्दै उद्योगीले किसानको दुध सस्तोमा पनि उठाउन आनाकानी गरिरहेका छन् । त्यसको विरोधस्वरूप एक साताअघि (आइतबार) मात्रै चितवनका किसानले सडकमै दुध पोखेर आन्दोलन गरेका छन् ।नयाँ पत्रिकामा खबर छ ।