झापा गोल्डकपको पहिलो क्वाटरफाइनल : एपिएफ र बागमतीको पहिलो हाफ बराबरी
बिर्तामोड । छैटौं झापा गोल्डकपअन्तर्गत आज पहिलो क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र बागमती युथ क्लबबीच भइरहेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक छ । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेका छन् । तर, गोल भने गर्न सकिरहेका छैनन् । पहिलो हाफमा बागमती क्लब निकै आक्रमक बनेको छ । उसले अवसरहरू सृजना गरे पनि गोल गर्न सकेको छैन ।
आजको खेलको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । एपिएफले यसअघि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । बागमती भने बाई पाएर सीधै क्वाटर फाइनल प्रवेश गरेको हो ।
२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।