गृहमन्त्रीको राजीनामा मागेर कांग्रेसले दोहोरो चरित्र देखायो : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार नेकपा एमाले झापाको ११औं अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दै संसद्मा राजीनामा मागेको बताए । कांग्रेसले लोकतान्त्रिक चरित्र देखाउन नसकेको ओलीको दाबी छ ।
उनले अहिलेको सत्ता गठबन्धन गठबन्धन नभई समीकरण भएको बताए ।
अहिले कसैका विरुद्धमा गठबन्धन नगरिएको बताए । ‘बिगतमा एमालेका विरुद्धमा गठबन्धन भएको थियो । देशलाई ओरालो लगाउने, नकारात्मक बनाउने त्यो टुट्यो, राम्रो भयो,’ उनले भने,’अहिलेको गठबन्धन हैन नयाँ समीकरण हो । कसैको कसैसँग घाँटी जोडिएको छैन । यो कसैको विरुद्धमा गठबन्धन हैन । एउटा उद्देश्यका लागि समीकरण हो । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने समीकरण उद्देश्य हो ।’ नयाँ समीकरणले देशमा आशाभरोषा जागेको दाबी गरे ।
नेतृत्व चयनका लागि भएको अधिवेशनमा ओलीले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएका छन् । उनले आन्तरिक संघर्षले पार्टी कमजोर हुने भन्दै एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका हुन् ।