उजुरी बढेपछि तराईका ६ जिल्लाका एसपी तानिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले तराईका ६ जिल्लाका प्रहरी प्रमुखलाई हटाएको छ । उनीहरुको कार्यसम्पादका विषयमा उजुरी बढेपछि गृह मन्त्रालयको निर्देशनमा हटाइएको हो ।
बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइएको छ । बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको विषयमा उजुरी बढेपछि उनीहरुलाई हटाइएको स्रोत बताउँछ । उनीहरुमध्ये सर्लाहीका ज्ञवाली र महोत्तरीका राईको अवधि दुई महिना पनि पुगेको थिएन ।
बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ । ती जिल्लाका एसपीका विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी बढेकाले हटाइएको एक उच्च प्रहरी अधिकारीले बताए । ‘जसले राम्रोसँग काम गर्न सक्दैन उनीहरुलाई तत्काल हटाइन्छ भन्ने यो सन्देश हो,’ ती प्रहरी अधिकारीले भने ।
त्यस्तै, नुवाकोटमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ । त्यहाँका एसपी संजयसिंह थापालाई यसअघि सुनकाण्डमा हटाइएको थियो । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ८ एसपीको पनि पदस्थापन गरेको छ ।