०४७ यताको सम्पत्ति छानबिन गर्न कांग्रेस सांसदहरूबाटै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ०४७ सालदेखि यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका तीन सांसदले यही शीर्षकमा संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता नै गराएका छन् । सम्पत्तिको व्यापक छानबिन गर्न कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले गत शुक्रबार प्रस्ताव दर्ता गराएका हुन् ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले मंगलबार संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले अब ०४७ सालदेखि नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाएका थिए । ‘व्यक्ति खुइँल्याउने, प्रतिशोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग हुनुहुँदैन,’ उनको भनाइ थियो, ‘०४७ देखिका भ्रष्टाचारबारे छानबिन गर्ने सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रममा समेत उल्लेख छ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारबारे ग्रान्ड पब्लिक इन्क्वायरी आह्वान गर्छौं । त्यसमा सहकारी पनि पर्छ ।’
लगत्तै कांग्रेसका नेताहरूले यो विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखामा गत शुक्रबार नै दर्ता गरिसकेको बताएका हुन् । प्रस्तावमा देशमा सुशासन कायम गर्न सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिएको छ । ०४७ साल यता सरकारको नेतृत्वमा सबैभन्दा बढी कांग्रेस नै छ ।कान्तिपुर दैनिकमा खबर छ ।