मौरीमय रोङ, २० हजार किलो मह उत्पादन
गोबिन्द पौडेल
रोङ । ईलामको रोङ गाउँपालिकाले स्थापना कालदेखी नै शुरुआत गरेको मौरीपालान ब्यावसाय क्रमिक रुपमा बिस्तारहँुदा किसानमा उत्साह बढेको छ । चुरे, भावर अनि समसितोष्ण हावापानी रहेको क्षेत्रमा पर्यावरण संरक्षण र भु–क्षयको संरक्षण हुने बिश्वासको साथ थालिईको मौरीपालन अहिले आएर गाउँपालिका भरनै फैलिएर मौरीमय बनेको छ । यो बर्ष २० हजार भन्दा बडि किलो मह उत्पादन भएको तथ्याङका उल्लेख छ ।
राङ गाउँपालिकाको–६ जिर्मलेमा २०२८ सालतिर नै आधुनिक घार भित्रिएको भएपनि अधिकांस किसानहरुले सोखले मुढेघारमा मौरी पालन गर्दै आएका थिए । गाउँपालिकाले २०७४ सालमा मौपालनलाई ब्यवसायिक रुपमा बिस्तार गर्न वडा नम्बर–४ को किटेनीमा मौरी रिसर्च सेन्टर स्थापना गर्यो । किसानहरुलाई आवश्यक उपयोगिता, तालिम, उपकरण प्रदान गर्दै वाताबरण संरक्षण र आर्थिक उन्नतीमा सहयोगी बनेकोले यसलाई निरन्तर रुपमा बिस्तार गरिदै आएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
गाउँपालिकामा बिस्तार हुँदै आएको मौरी पालन ब्यवसायमा अहिलेसम्म घार निर्माण र रानीमौरी बिकाशकोलागि १८ जना अगुवा किसानले एडभान्स र अन्य चारसय ८० जना किसानहरुले आधारभुत तालिम पाएर ब्यवसायिक रुपमा मौरी पालनमा सलग्न रहेको अध्यक्ष स्याङ्वोले बताए । हासम्म पच्चहत्तर प्रतिशत अनुदानमा किसानहरुको घरमा दुईहजार आधुनिक घार रहेको र यस बर्ष पालिकाभर ५ सय ५० घार थप गर्न लागिएको छ । एउटै किसानले ३ सय किलोसम्म मह उत्पादन गरेको तथ्याङ रहेको रोङ कृषिशाखा प्रमुख तिर्थराज देवकोटाले बताए ।
रोङमा एकै किसानले १ सय पचास आधुनिक घारमा मौरी राखेका देवकोटाले बताए । मुढे घार पनि बिस्तापित भएको देखिदैन वडा नम्बर–६ को भिमबहादुर तामाङले पैसठी घार मुढेघार नै राखेर ब्यवसायिक रुपमा मौरी पालन गरिरहेको रोङ कृषिशाखाको प्राबिधिक मोहन अधिकारीले बताए ।
गाउँपालिकाले योजना बिस्तार गर्न मौरी रिसर्च सेन्टरसँगै वडा स्तरदेखी पालिका स्तरसम्म मौरी पालन संजाल गठन गरेर घार समेत निर्माण गर्ने गराउने गरेको छ । वडा नम्बर–६ का कुमार मोक्तानले कुमार बि. वर्कसप खोलेर व्यवसाय प्रवर्धन गरेका छन् । उनि ईलाम लगायत विभिन्न जिल्लामा तालिम दिने दक्ष प्रशिक्षक र घार मौरी निर्यातकर्ता समेत हुन ।
सृजना सामुदायिक वनका सदस्यहरु लाल बहादुर तामाङ, चन्द्रबहादुर राई र नरवहादुर चौहानले समेत ब्यवसायिक रुपमा घार गोला उत्पादन र बिक्रि बितरण गर्ने गरेको रोङ कृषि शाखाका प्राबिधिक राम राईले बताए । गत बर्ष एघार हजार किलो मह उत्पादन भएको रोङमा यस बर्ष २० हजार किलो उत्पादन भएको छ । रोङ गाउँपालिकाले भने प्रसोधित मह प्रतिकेजी एकहजार आठसय मुल्य निर्धारण गरेको छ । गाउँपालिकाले महलाई ब्राण्डीङ गरेर ‘रोङ मह’ बजारमा ल्याएको छ ।