संविधान संशोधनबारे प्रधानमन्त्रीको मार्गचित्र : सबै दलसँग परामर्श, सहमति नभए प्रक्रिया
काठमाडाैं । संविधान संशोधनको एजेन्डासहित कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बनेका केपी ओलीले सबै दलसँग परामर्श गरेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । तर, त्यस्तो हुन नसके संवैधानिक प्रक्रियाअनुसार संशोधन प्रक्रिया अगाडि बढ्ने पनि स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले राखेको जिज्ञासामा ओलीले संविधान संशोधनको राष्ट्रिय आवश्यकता र राष्ट्रहित मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने बताए । ‘वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल र परामर्श गर्दै यस कार्यलाई अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले संविधान संशोधनका अन्तर्वस्तु नखुलाई सहमतिमा अगाडि बढाउने र सहमति हुन नसके प्रचलित संवैधानिक प्रक्रियाअनुसार संशोधन प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारे । राप्रपाका धवलशमशेर जबरा र माओवादीकी दुर्गा राईले संविधान संशोधन केका लागि, अगाडि बढ्छ कि बढ्दैन भनेर प्रश्न राखेका थिए । कांग्रेस र एमालेले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने सहमति गरेपछि विपक्षीहरूले उपलब्धि उल्टाउने प्रयासका रूपमा टिप्पणी गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।