सत्ता र शक्तिको दुरुपयोग गरेर राजनीतिक पूर्वाग्रह साँध्दै दमकका मेयर राम थापा
झापा । दमक नगरपालिकका नगरप्रमुख रामकुमार थापा लामो समयसम्म व्यक्तिगत इगो राख्ने व्यक्ति हुन् भन्ने चर्चा नयाँ हैन । उनी आफ्ना विरोधीलाई ठेगान लगाउन कति पनि पछि पर्दैनन् भन्ने आरोपको पुष्टि पछिल्लो समय हुँदै गएका छन् । उनले आफ्ना विरोधीलाई तह लगाउन पद, सत्ता र शक्ति को दुरुपयोग राम्रैसँग गरेका छन् । मेयर थापा सार्वजनिक पदमा बसेबापत उनीमाथि भएको आलोचनालाई समेत व्यक्तिगत रिसीबीका रूपमा लिन्छन् ।
तस्वीर ः प्रविणकुमार राईको निजी जग्गामा मेयर थापाको आदेशमा दलबलसहित ग्राभेल हालिँदै ।
उनी विरोधीलाई ठेगान लगाउन कतिसम्म गिर्छन् भन्ने पुष्टि हालै दमकमा भएका दुई घटनाले गर्छ । यी दुई घटना हेरौँ – दमक–७ का प्रविणकुमार राई र मेयर थापाको राजनीतिक पृष्ठभूमि एउटै हो । उनीहरु लामो समय एउटै पार्टीमा काम गरे । राई राप्रपाको केन्द्रीय सदस्यसम्म भए । तर, हाल उनी त्यो पार्टीमा छैनन् । उनी अहिले स्वतन्त्र छन् ।
पार्टीमा हुँदा पनि थापा र राईको गुट एउटै थिएन । उनीहरु एकअर्काका विरोधी थिए । थापाले राईलाई देखिसहँदैन थिए । त्यसबेला देखिको राजनीतिक प्रतिशोध थापाले राईमाथि अहिले साधेँका छन् । राईकी श्रीमती सुनिता राईको नाममा दमक–७ मा दुई कठ्ठा जमिन छ । त्यो जमिनमा घर बनेको छैन । खाली रहेको जमिनको एक छेउ करिब १८ वर्षदेखि गल्लीको रूपमा प्रयोग हुँदै आएको थियो । यद्यपि उक्त जग्गाको नक्सामा समेत बाटो छैन । उनको निजी जमिनमा गल्लीको रूपमा प्रयोग भएको जग्गामा केही व्यक्तिले बाटो निकाल्न माग गर्दै दमक नगरपालिकामा निवेदन दिए ।
राईले आफ्नो जमिनको संरक्षण गर्न घेराबारा गरेपछि निवेदन बोकेर केही स्थानीय पुगेका थिए । दमक नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते राईको निजी जग्गामा नक्सामा समेत नभएको बाटो खोल्ने निर्णय गरेको थियो । उक्त निर्णय यति हतारमा गरियो कि तीन दिनभित्र बाटो खोल्न राई र उनको सँधियार गोमा राई मगरको नाममा आदेश जारी गरियो । जबकि त्यहाँ कति फिटको बाटो बन्ने ? भन्ने निर्णय गर्न समेत न्यायिक समिति चुकेको देखिन्छ । त्यो निर्णयको विरुद्धमा राई जिल्ला अदालत झापामा पुनारावेदन गर्न पुगेका छन् ।
तर, जिल्ला अदालत झापामा विचाराधीन रहेको मुद्दामा नगरपालिकाले गरेको हर्कतले मेयर थापाले नियत प्रष्ट हुन्छ । नगर प्रहरीलाई जबरजस्त जसरी बाटो खोलेर आउनु भन्दै पटकपटक निर्देशन दिएर पठाउने गरेका थिए । पहिलोपटक थापाले जग्गा संरक्षण गर्न लगाएको घेराबारा भत्काएर ल्याउन नगर प्रहरीलाई निर्देशन दिए । त्यसपछि बाटोमा ग्राभेल हाल्न नगर प्रहरीलाई टिपरसहित पठाएका थिए । तर, त्यो प्रयास भने असफल भयो ।
गत बिहीबार भने व्यक्तिको जग्गामा बाटो निकाल्न नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्ष भीम पौडेललगायतको टिम इलाका प्रहरी कार्यालय दमकको प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहितको दलबल लिएर राईका जग्गामा बाटो निकाल्न पुगे । राईले बाटो कति फिटे हो ?, अदालतमा विचाराधीन रहेको मुद्दामा किन जबरजस्ती भन्ने प्रश्न गरेपछि इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापाको टोली पछि हट्ने तयारीमा थियो । तर, मेयर थापाले डिएसपीलाई उल्टै हप्काए । त्यसपछि प्रहरीको टोली बाध्य भएर अघि बढ्यो ।
दलबलको अगाडि प्रविणकुमार राईको केही लागेन । त्यहाँ बाटोमा ग्राभेल हालेरै छाडे । मेयर थापाले बाटोमा ग्राभेल हाल्न खोला ठेक्कामा लिने आफू निकट ठेकेदार विनोद थापालाई प्रयोग गरे । जबकि केही महिना अघि अवैध खोला खन्दा आफूलाई मेयर निकट भनेर समाचार लेखेको भन्दै विनोदले पत्रकालाई धम्क्याएका थिए । ‘ममाथि नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितको टिमले राजनीतिक पूर्वाग्रह राख्यो । सबै दलबल यहाँ केन्द्रित ग¥यो । कति फिटे बाटो बनाउने भन्दा उनीहरुसँग जवाफ नै छैन,’ प्रविणकुमार राई भन्छन्,‘संविधानले मौलिक हक मानेको सम्पत्ति राख्ने मेरो हक हनन् भएको छ । ममाथि अन्याय भएको छ ।’ स्रोतका अनुसार विगतमा एउटै पार्टीमा हुँदा राईले गरेको असहयोग र आलोचनाको बदला थापा लिन चाहान्थे । उनी त्यसका लागि उपयुक्त मौकाको खोजीमा थिए ।
अहिले राई स्वतन्त्र बसेर शक्ति पनि गुमाएको अवस्थालाई उपयुक्त मौका सम्झिएर राईमाथि पदको दुरुपयोग गर्दै दलबलसहित थापा आक्रमणमा उत्रिएका हुन् । थापा विरोधीलाई ठेगान लगाउन पदको कसरी दुरुपयोग गर्छन् भन्ने उदाहरण हेर्न दमककी व्यवसायी बिन्दु सिटौला लक्कीको घटनालाई हेर्दा पनि पुष्टि हुन्छ । उद्यमी विन्दु सिटौलाले दमक नगरपालिका– १ मा उद्योग सञ्चालनका लागि संरचना बनाएको दुई वर्ष भयो । आफ्नो नाममा रहेको दश कट्ठा जग्गामा पेवर ब्लक उद्योग सञ्चालनका लागि उनले त्यहाँ डेढ करोड लगानी गरिसकेकी छिन् ।
इको नेपाल इन्फा स्ट्रक्चर नामक कम्पनीबाट उद्योग सञ्चालनका लागि नगरपालिकामा व्यवसाय दर्ता गर्न दुई वर्षअघि उनी वडा कार्यालयमा सिफारिस लिन पुगिन् । वडा कार्यालयले स्थलगत सर्जिमिनका लागि कर्मचारी उद्योग स्थापना गरेको ठाउँसम्म पठायो । विन्दुलाई केही दिनमा वडा कार्यालयमा प्रमाणपत्र लिन पनि बोलाइयो । तर, त्यसपछि भने उनलाई उद्योग दर्ताका लागि प्रमाणपत्र दिनुको सट्टा उल्टै नगरपालिकाले हैरानी मात्र दियो । नगरपालिकाले सिटौलाको नाममा रहेको साबिक मधुमल्ला ६ (ङ) मा दर्ता कायम भएको १६४ कित्ता नम्बरको जग्गा कमल गाउँपालिका– ५ मा पर्ने भन्दै सिफारिस दिन रोक्यो । यो जग्गा कमल र दमकको सीमा भएर हाल बगिरहेको रतुवा नदीको पश्चिमतर्फ पर्छ । विन्दु सिटौला आफ्नो जग्गा दमकमै पर्ने भन्दै निरन्तर नगरपालिकाविरुद्ध लडिरहिन् । उनले ०७३ देखि जग्गाको सम्पत्ति कर नगरपालिकालाई तिर्दै आएकी थिइन् ।
तर, दुई वर्षदेखि दमक– १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको निर्देशन भन्दै उनको सम्पत्ति करसमेत वडाले लिन छाडेको छ । वडाध्यक्ष न्यौपानेले उक्त जग्गा दमकभित्र नपर्ने भन्दै उद्योग दर्ता गर्न नमानेपछि सिटौला कमल गाउँपालिका पुगिन् । कमल गाउँपालिकाले भने गत २१ वैशाखमा उक्त कित्ता नम्बरको जग्गा दमक नगरपालिकाभित्रै पर्ने भन्दै सिटौलालाई पत्र दिएको छ । उक्त पत्र १३ असारमा सिटौलाले दमक नागरपालिकामा दर्तासमेत गराएकी छिन् । उनको पत्र नगर प्रमुख रामकुमार थापासम्म पु¥याएकी छन् ।
तर, उनीमाथि राजनीतिक पूर्वाग्रह कायमै छ । सुरुमा वडाध्यक्षले काम नगरिदिए आफू गरिदिने आश्वासन दिने मेयर थापा अहिले सिटौलाको उद्योग दर्ता आफ्नो कार्यकालभरि कुनै हालतमा नगर्ने भन्दै आफूनिकटलाई भन्दै आएको सिटौला दुखेसो गर्छिन् । मेयर थापाले यसो गर्नुको पछाडि एउटै मात्र कारण– सिटौलाले मेयर थापाको कार्यशैलीमाथि गरेको आलोचना । विगत केही समयअघि दमक बजारको फोहोर उठेन । त्यहीबेला सिटौलासहित केही अगुवाको टोलीले दमकको फोहोर नउठेको विरोधमा ट्याक्टरमा फोहोर उठाएर दमक नगरपालिकाको कार्यालय परिषरमा लगेका थिए ।
त्योबेला थापा फोहोरमा राजनीति गरेको भन्दै खुब रिसाएका थिए । त्यही कारण अहिलेसम्म पनि सिटौलाले उद्योग दर्ता गर्न पाएकी छैनन् । प्रविणकुमार र विन्दु त मेयर थापाको पूर्वाग्रहको सिकारका उदाहरण मात्र हुन् । दमकमा अन्य पनि यस्ता घटना छन् । मेयर थापा आलोचना सहन नसक्ने व्यक्तिमा पर्छन् । गणतन्त्रमा जनताको मत पाएर मेयर बनेका राप्रपाका प्रदेश अध्यक्ष थापाको कार्यशैली भने अझै पनि राजतन्त्र कालको टीके मेयरको जस्तै छ । स्मरण रहोस्, ज्ञानेन्द्र शाहको सत्तारोहणपछि उनी राजाबाट मनोनित टीके मेयर पनि बनेका थिए ।
दमकमा रहेका पत्रकारले उनको गलत कामको आलोचना गरेर समाचार लेख्दा समेत बोलचाल नै गर्दैनन् । उनी पत्रकारलाई उल्टै आफ्नो दुस्मन सम्झन्छन् ।