फूलपातीमा थपियो ‘१२ गाउँ’, त्रिपक्षीय भिडन्त निश्चित
यसपालिको दशैंको फूलपाती अर्थात् असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’पछि अब यो मितिमा अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने भएको छ । मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
पोस्टरमा विराजका छोरा समीर भट्ट देखिएका छन् । सुगठित शरीरसहित सर्टलेस अवतारमा मेशिनगन चलाउँदै गएको अवस्थामा उनलाई देख्न सकिन्छ । पृष्ठभूमिमा भने गाउँको घना बस्ती छ । पोस्टरले नै फिल्म एक्सनले भरिएको प्रष्ट हुन्छ । यही फिल्मबाट समीरले डेब्यु गरेका हुन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सोचसहित ‘१२ गाउँ’ बनाएको विराजले बताएका छन् ।
यसमा विराज पनि मुख्य भूमिकामा छन् भने पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ ।
यसमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले यो फिल्मलाई खिचेका हुन् ।