बाल यौन दुरुपयोग आरोपमा पक्राउ सुरक्षा गार्ड धरौटीमा रिहा
झापा । बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् ।
अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका हुन् । उनी २२ दिनअघि पक्राउ परेका थिए । गत साउन १० गते बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्यसको भोलिपल्ट उनी पक्राउ परेका थिए । बिर्तामोड–४ निवासी पाण्डे पूर्वप्रहरी पनि हुन् ।
कराते खेल्न आएकी बिर्तामोड–६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अनुसन्धानकाअगाडी बढाइएको थियो ।