नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष ८० हजार घुससहित पक्राउ
झापा । नेपाली काङ्ग्रेसबाट निर्वाचित झापाको बुद्धशान्ति गाउँपालिका-२ नम्बर वडा अध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदालिँदै पक्राउ परेका छन्।
सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै वडा अध्यक्ष ओलीलाई विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । आफूहरूको स्ट्रिङ अपरेशन चलाएर वडा अध्यक्ष ओलीलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट मंगलबार दिउँसो करिब १ बजे घुस रकमसहित पक्राउ गरेको विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले जानकारी दिए । पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोली आउन लागेको उनले बताए । घटना विवरण अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा आफ्नो व्यवसाय सञ्चालनका लागि स्थानीय चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए ।
चौहानले बुद्धशान्तिमा जग्गा खरिदका लागि घिमिरेलाई भारतीय रुपैयाँ १४ लाख ५० हजार अर्थात् नेपाली रुपैयाँ २३ लाख २० हजार दिएका थिए । सोही रकम बमोजिम घिमिरेले बुद्धशान्ति ५ मा जग्गा खरिद गरेका थिए । पछि घिमिरेले भारतीय नागरिक भएकोले चौहानलाई धोका दिएर जग्गामा आफ्नो नाममा हड्पी हाले । चौहान पीडित भएपछि न्यायका लागि बुद्धशान्ति २ नम्बर वडा कार्यालय पुगे ।
वडा कार्यालयको मेलमिलाप समितिले दुवै पक्षलाई बोलाएर रकम फिर्ता वा जग्गा नामसारी गरिदिने सर्तमा लिखित कागज गराएका थिए । सो कागज वडा अध्यक्ष डिल्लीप्रसाद घिमिरेकै रोहबरमा २०८० साल चैत १ गते गराइएको थियो । कागजमा भनिएको छ, चौहानले घिमिरेलाई दिएको २३ लाख २० हजार रकममध्ये घिमिरेले २ लाख २७ हजार ३ सय रुपैयाँ खर्च भएको बताएकोले बाँकी रकम २० लाख ९२ हजार ७ सय रुपैयाँ २०८१ भदौ मसान्तभित्र वडा कार्यालयको रोहबरमा चौहानलाई उपलब्ध गराउने वा खरिद गरिएको जग्गा चौहानको विश्वासिलो व्यक्तिको नाममा नामसारी गरिदिने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ ।
सोही निर्णय बमोजिम घिमिरेले चौहानलाई रकम फिर्ता गर्ने हुँदाहुँदै पछि वडा अध्यक्ष ओलीले पीडित चौहानसँग रकमको बार्गेनिङ गर्न थालेका थिए । रकम उपलब्ध गराइदिने सर्तमा वडा अध्यक्ष ओलीले चौहानसँग एक लाख भारु मागेका थिए । चौहानले त्यत्रो रकम दिन नसक्ने भनेपछि वडा अध्यक्ष ओलीले उल्टै उनलाई धाकधम्की दिँदै आइरहेका थिए । आफू पीडित भएकोले ५० हजार भारु मात्र दिन सक्ने भनेपछि अनन्त वडा अध्यक्ष ओली उनका कुरामा सहमत भए ।
तर, चौहान आफू पीडित भएको कुरा विप्लव माओवादीका कार्यकर्तालाई भेटेर सुनाइसकेका थिए । विप्लव माओवादी कार्यकर्ताहरूले नै चौहानलाई बोलाएर रकम दिन लगाएर वडा अध्यक्ष ओलीलाई घुससहित पक्राउ गरिएको विप्लव माओवादीका झापा जिल्ला सचिव सञ्जय राईले जानकारी दिए ।