कोशी प्रदेशमा राप्रपालाई सभामुखको ‘लड्डु’
ईखरीपाटी राजनीतिक ब्यूरो
बिर्तामोड । प्रदेश सरकार बनाउने संविधानको धारा अर्थात् धारा १६८ को सबै उपधाराको प्रयोगपछि कोशी सरकार बनेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्की दुई महिनाअघि मुख्यमन्त्री बनेका छन् । उनी एमालेको ‘च्याखे’मा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री बने । कांग्रेस नेता डा. शेखर कोइरालाको लविङमा उनी मुख्यमन्त्रीको कुर्सीमा पुगे । गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी गरिरहेका बेला कार्कीको विद्रोह आङ्बोका लागि महँगो भयो । मुखमै आएको मुख्यमन्त्री छाड्नुपर्ने बाध्यता आइलाग्यो । यता दुईपटक विश्वासको मत पाउन नसकेर सत्ताबाट बाहिरिएको एमाले पनि मुख्यमन्त्री नपाए पनि पुनः सत्तामा आउँदा निकै खुसी थियो । तर, एमालेको ‘ढोक्सा’मा लामो समय माछा रहन सकेन । माछा पक्रन नपाई ‘ढोक्सा’ बाटै फुत्कियो ।
संविधानको धारा १६८ (५) अनुसार पार्टीबाट विद्रोह गरेका कारण कार्कीलाई कांग्रेसले कारबाही गर्न सकेन । त्यसकारण गठबन्धन नै कार्कीको शरण पर्यो । सत्तामा पुनः फर्किएको एमाले स्वाद चाख्न नपाउँदै मन अमिलो बनाएर बाहिरियो । तर, समर्थन फिर्ता भने लिएन । किनकि उसलाई पनि मध्यावधिमा जाने आँट छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको ४७ सांसद छन् । ९३ सदस्यीय रहेको कोशी प्रदेशसभामा बहुमतका लागि यो पर्याप्त छ । तर, विगतमा उद्धव थापाले विश्वासको मत लिँदा एमालेले उपसभामुख र पार्टीका तर्फबाटज्येष्ठ सदस्य अनुपस्थिति गराउँदा सभाध्याक्ष त कांग्रेसकै हुने भयो । तसर्थ एमालेले समर्थन फिर्ता लिने बितिकै कोशीमा संकट देखिन्छ । अर्थात् कोशीमा सत्ता संकट अझै टरेको छैन । संविधानविद् विपिन अधिकारीका अनुसार एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री कार्कीले सदनमा पुनः विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए कोशी प्रदेशमा मध्यावधि कसैले टार्न सक्दैन । यद्यपि हालसम्मको अवस्थामा कोशीमा एमालेले समर्थन फिर्ता लिने आँट भने गरेको छैन ।
एमालेले समर्थन फिर्ता लिए पनि कोशीमा मध्यावधि टार्ने एउटै पार्टी हो, संघीयता, गणतन्त्रविरोधी र राजावादी पार्टी राप्रपा । संघीयता विरोध गरे पनि प्रदेश संरचनामा सत्ताको स्वाद चाख्न माहिर राप्रपासँग ६ सिट छ । जसले गठबन्धनका मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरे सत्ता संकट टर्छ । यसका लागि गठबन्धनले राप्रपालाई सभामुखको ‘लड्डु’ देखाइरहेको छ । राप्रपा पनि यसमा मख्ख छ । केही समय अघि राप्रपाका कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला गठबन्धनका दलसँग वार्ता गर्न विराटनगर पुगेको राप्रपा स्रोतको दाबी छ । यद्यपि कुरा भने मिलिसकेको छैन । संसदबाट प्रतिस्थापन विधेयक पारित भएपछि छलफल गर्ने भनेर उठेको बैठक अझै बसेको छैन । प्रतिस्थापन विधेयकमा राप्रपाले सुरुमा विरोध गरे पनि पछि एमालेकै शैलीमा सहयोग गरेर विधेयक पास हुँदै प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणीकरण पनि भइसकेको छ । माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि राप्रपाले गठबन्धनलाई सहयोग गर्ने संकेत गरे । उनले कुनै न कुनै हिसाबले राप्रपासँग सहकार्य हुने बताए ।
कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले यसपटक राप्रपासँग सहकार्य हुने बताए । ‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधानको धारा १६८ का अरू उपधारामा राप्रपाले सहयोग नगरे पनि उपधारा ५ मा सहयोग गर्ने कुरा बोल्दै आउनुभएको छ । राप्रपासँग संवाद पनि जारी छ,’ उनले भने, ‘राप्रपासँगको छलफल आजदेखिको हैन । एमालेको सरकारबाट माओवादी बाहिरिएदेखि नै राप्रपासँग छलफल गरेका हौँ । केन्द्रीय नेताहरूले पनि कोशी प्रदेशका सन्दर्भमा वार्ता गरिरहनु भएको छ । अब करिबकरिब वार्ता निष्कर्षमा पुग्छ ।’