प्रहरी समायोजनका लागि कोशी सरकार तयारी गर्दैछ : आन्तरिक मामिला मन्त्री राई
झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले कोशी सरकारले संघबाट समायोजन भएर आउने प्रहरीलाई व्यवस्थित गर्न आन्तरिक तयारी थालेको बताएका छन् ।
केही दिनअघि आफ्ना माग लिएर भेट्न गएका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि कोशी प्रदेशले पनि तयारी थालेको मन्त्री राईले जानकारी दिए ।
शुक्रबार झापाको ट्राफिक प्रहरी कार्यालय दमकको निर्माणाधीन भवन अनुगमनपछि दमकमा पत्रकारहरूसँग कुराकानी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समिति बनाएर व्यवस्थित गर्न आन्तरिक तयारी गरिएको उनले बताए । ‘प्राविधिक कुरा भाषणबाट हुँदैन ।
त्यसका लागि प्राविधिक टिम बनाउनुपर्छ । हामीले यस्तो समिति बनाएका छौँ । जसले लोगो लगायतका काम गरिरहेको छ,’ उनले भने, ‘मैले पनि प्रदेश प्रहरीका उच्चपदस्थ तथा पूर्वप्रहरी अधिकृतहरूसँग के के कुरा व्यवस्थित गर्नुपर्छ भनेर छलफल गरिरहेका छौँ ।
‘ फरक प्रशंगमा बोल्दै मन्त्री राईले कोशी सरकारलाई चाँडै पूर्णता दिइने बताए । उनले कोशीमा बजेट सर्वसम्मत पारित भएको र सभामुख चयन पनि सर्वसम्मत भएको स्मरण गर्दै सरकारलाई सर्वसम्मत रूपमा पूर्णता दिने बताए ।