बिर्तामोड अटो दुर्घटनाः भागेका चालक प्रहरी हिरासतमा
बिर्तामोड । बिर्तामोड–३ स्थित बिर्ताबजारमा मंगलबार साँझ तीनपांग्रे अटो रिक्सा दुर्घटनापछि भागेका अटो चालक पक्राउ परेका छन् । प्रहरीले अटो चालक बिर्तामोड–९ का ४२ वर्षीय अरुण तामाङलाई घटना भएको आधा घण्टामै पक्राउ गरेको थियो । दुर्घटनालगत्तै तामाङ अटो र घाइते यात्रुलाई घटनास्थलमै छोडेर भागेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार तामाङको ढाडमा सामान्य चोट लागेको र उपचारपपछि प्रहरी हिरासतमा राखिएको छ । चालक तामाङको साथबाट तत्काल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त नभएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
मंगलबार साँझ ७ः१५ बजे बिर्तामोडबाट गरामनी जाँदै गरेको प्रदेश १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्ला साबिकको डुम्रिसे–२ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको थियो ।अर्की यात्रु ताप्लेजुङ जिल्ला पाथिभरा याङवरक–२ बस्ने ३१ वर्षीय सामना लिम्बू घाइते भएकी थिइन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।