सरकारी ट्रायल सेन्टर नै पालना गर्दैनन् मापदण्ड
काठमाडाैं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरले नै मापदण्ड पालना नगरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले काठमाडौंमा सञ्चालित पाँचवटा सरकारी ट्रायल सेन्टरले कानुनबमोजिम पूर्ण रूपमा मापदण्डको पालना गरेका छैनन् । निजी दुईवटा ट्रायल सेन्टर पनि कानुन पालना गर्न चुकेका छन् ।
ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेकोबारे उजुरी परेपछि त्यस विषयमा भए–गरेका अनियमितता विस्तृत रूपमा छानबिन गरेर प्रतिवेदन पेस गर्न केन्द्रको ९ चैतको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । केन्द्रका प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालको संयोजकत्वमा गठित छानबिन समितिमा नापी अधिकृत विमला क्षेत्री, इन्जिनियर दिनेश भण्डारी र सबइन्जिनियर सुनीलकुमार यादव सदस्य थिए । समितिलाई काठमाडौं उपत्यकाभित्र रहेका सम्पूर्ण ट्रायल सेन्टरहरू प्रचलित कानुनमा तोकिएको मापदण्डअनुरूप भए–नभएको विषयमा अनुगमन तथा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यातायात व्यवस्था विभागले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ लागू गरेको छ । निर्देशिकाको मापदण्ड पूर्ण पालना नभएकाले ट्रायल सेन्टरहरूले प्रयोगात्मक परीक्षास्थलमा लिएको परीक्षालाई विधिसम्मत भयो भन्न सक्ने अवस्था नदेखिएको प्रतिवेदनले किटान गरेको छ । ती ट्रायल सेन्टर र त्यसको अनुगमन गर्नुपर्ने भूमिका भएका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न केन्द्रले सुझाएको छ ।
छानबिनका क्रममा समितिले यातायात व्यवस्था कार्यालयहरूबाट सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा प्रयोजनका लागि सम्झौता भएर उपत्यकामा सञ्चालनमा रहेका ट्रायल सेन्टरहरूको अनुगमन र नापजाँच गरेको थियो । छानबिन समितिले भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालि र बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल तथा काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वरस्थित नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिको अनुगमन र नापजाँच गरेको थियो । त्यस्तै, ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुल प्रालि र अन्य दुईवटा निजी ट्रायल सेन्टरहरू सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टरको पनि अनुगमन तथा नापजाँच गरेको थियो ।
छानबिन समिति संयोजक खनालले काठमाडौंका सबै ट्रायल सेन्टरमा मापदण्डको पूर्ण पालना नभएको साझा समस्या देखिएको बताए । ट्रायल सेन्टरले नै मापदण्ड पालना नगर्दा निर्देशिकाले तोकेका मापदण्डअनुसार तयारी गरेर गएका परीक्षार्थीहरू असफल हुने जोखिम हुने उनको भनाइ छ । ‘यो त परीक्षामा पाठ्यक्रमबाहिरबाट प्रश्न आएजस्तो भयो,’ उनले भने, ‘ट्रायल सेन्टरहरूले कानुनबमोजिम मापदण्ड पालना गर्नुपर्छ ।’
जिम्मेवार पदाधिकारी र ट्रायल सेन्टरलाई कारबाही गर्नुपर्ने सतर्कताको निष्कर्ष
राष्ट्रिय सतर्कता केन्द्रले ट्रायल सेन्टरहरूले कानुनी मापदण्ड पालना नगरेको निष्कर्ष निकालेको छ । ट्रायल सेन्टरहरू सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिकाले तोकेको मापदण्डअनुसार नभएको छानबिनको ठहर छ । त्यस प्रकारका प्रयोगात्मक परीक्षास्थलमा लिएको परीक्षालाई विधिसम्मत भयो भन्न सक्ने अवस्थासमेत नदेखिएको प्रतिवेदनले किटान गरेको छ । ती ट्रायल सेन्टर र त्यसको अनुगमन गर्नुपर्ने भूमिका भएका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न केन्द्रले सुझाव दिएको छ । ‘अनुगमन तथा निर्देशन दिने निकाय सम्बन्धित यातायात व्यवस्था कार्यालयका जिम्मेवार पदाधिकारी तथा ट्रायल सेन्टरलाई कानुनबमोजिम कारबाही गरी कानुनअनुसार तोकिएको मापदण्डअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिनुपर्ने’ निष्कर्ष छानबिन समितिको छ ।
त्यस्तै, निजी ड्राइभिङ स्कुलहरूबारे पनि छानबिन समितिले चासो देखाएको छ । त्यस्ता निजी ड्राइभिङ स्कुलहरू के–कति सञ्चालनमा छन, अनुमति लिए–नलिएको तथा नवीकरण भए–नभएको सम्बन्धमा यकिन विवरण नरहेको पाएको प्रतिवेदनमा उल्लेख छ । तिनले मनलाग्दी ढंगले प्रयोगात्मक प्रशिक्षण दिई रकम असुलउपर गरेकाले यस सम्बन्धमा सम्पूर्ण सेन्टरलाई अनुगमन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । मापदण्डमा सञ्चालन भएकालाई नवीकरण गरी सञ्चालनमा ल्याउने, दर्ता भएका तर नवीकरण नभएकालाई तोकिएबमोजिम नवीकरण गर्ने र दर्ता नभएकालाई मापदण्डअनुसार प्रयोगात्मक परीक्षास्थल बनाउन लगाउने तथा मापदण्ड पुर्याउन नसक्नेलाई बन्द गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सिफारिस छानबिन समितिले गरेको छ ।
मापदण्ड पालना नगर्दा अधिकांश परीक्षार्थी ट्रायलमा पटक–पटक असफल भएको सतर्कता केन्द्रको ठहर
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, एकान्तकुना र सुजुकी ड्राइभिङ स्कुलबीच प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुई र चारपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ३ कात्तिक ०७३ मा सम्झौता भएको थियो । यो ड्राइभिङ सेन्टरमा दुई र चारपांग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको, केन्द्रबिन्दु रुख/पोल भएकाले ‘फिगर ड/युटर्न टेस्ट’को यकिन नापजाँच गर्न नसकिएको, दुईपांग्रे सवारीसाधनको बम्पी टेस्टअन्तर्गत पिसिसी प्ल्याटफर्म नभएको लगायत समस्या प्रतिवेदनमा उल्लेख छ । दुई तथा चारपांग्रे सवारीसाधनको ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिएबमोजिम भएको नपाइएको पनि छानबिन समितिले औँल्याएको छ ।
मापदण्ड पालना नगर्ने अन्य ट्रायल सेन्टरहरूमा भक्तपुर राधेराधेको इजी वे ट्रायल सेन्टर, भक्तपुरकै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल, काठमाडौं गुर्जुधाराको भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर छन् । त्यस्तै, छानबिन समितिले दुईवटा निजी ट्रायल सेन्टरको पनि नापजाँच गरेको थियो । सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टर दुवैमा लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नापजाँच तोकिएबमोजिम भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । नयाँपत्रिकामा खबर छ ।