शान्तिसुरक्षामा कमजोर बिर्तामोड प्रहरी
झापा । पछिल्ला दुई घटनाले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको शान्तिसुरक्षामा कमजोर छ भन्ने पुष्टि गर्छ । २६ बैशाखमा बिर्तामोड ४ काली मन्दिर टोलमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेको १५ दिन बित्न नपाउँदै बिर्तामोडमा अर्को घटना घटेको छ । आइतबार बिर्तामोडमा अर्को एउटा शव फेला परेको छ ।
पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकलको सुरुङ पूर्वपट्टि झाडीमा सडेको अवस्थामा शब भेटिएको हो । शवको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । शवबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। २६ बैशाखमा मात्रै घरमा एक्लै बस्दै आएकी बिर्तामोडकी ६८ वर्षीया विष्णुमाया विष्ट मृत फेला परेकी थिइन् । उनको हत्या भएको शङ्का गरिए पनि अहिलेसम्म घटनाको बारेमा कुनै पनि विवरण प्रहरीले सार्वजनिक गरेको छैन । कोशी प्रदेशकै मुख्य व्यापारी केन्द्रको रूपमा उदाउँदै गरेको बिर्तामोडमा १५ दिन नबित्दै एकपछि अर्को हत्या आशंकाका घटना घट्नुले यहाँको शान्तिसुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
साँझ ९ नबज्दै साइरन बजाउँदै र होटलहरू बन्द गर्दै हिँड्ने प्रहरीले शान्तिसुरक्षामा भने चासो नदेखाएको बिर्तामोडबासीको गुनासो छ। केही समयअघि मात्र इलाका प्रहरी कार्यालय बिर्तामोडमा कमान्ड सम्हालेर आएका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुरक्षा कायम गर्न नसकेको आम बिर्तामोडबासीको बुझाइ छ । अब यी दुई घटनाको अनुसन्धान प्रहरीले सफल बनाउँछ कि बनाउँदैन त्यो भने हेर्न बाँकी नै छ । यदि यी दुई घटनामा सफल अनुसन्धान गर्न सके प्रहरीप्रति नागरिकको विश्वास झनै बढ्नेछ बिर्तामोडबासी बताउँछन् ।