पाँच प्रदेशले बजेट घटाए, दुई प्रदेशले बढाए
झापा । आगामी आवका लागि पाँच प्रदेशले बजेटको आकार घटाएका छन् । कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले बजेटका आकार घटाएका हुन् । कोशी प्रदेशको बजेट ९६ करोड ४२ लाख रुपैयाँले घटेको छ । चालु आवका लागि कोशीले ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो । आगामी आवका लगि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको छ ।
त्यस्तै, मेधेश प्रदेशको बजेट २२ करोड २४ लाख ३० हजार रुपैयाँले घटेको छ । चालु आवका लागि मधेशले ४४ अर्ब ११ करोड ४६ लाखको बजेट ल्याएकोमा आगामी आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारमा कायम गरेको छ ।
गण्डकी प्रदेशको बजेट पनि ४४ करोड ८६ लाख रुपैयाँले घटेको छ । चालु आवका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको गण्डकीले आगामी आवका लागि घोषणा गरेको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार अंकको छ ।
लुम्बिनी प्रदेशको बजेट भने एक अर्ब ५० करोड ९७ लाखले घटेको छ । चालु आवका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको लुम्बिनीले आगामी आवका लागि ३८ करोड ९७ लाख घोषणा गरेको हो ।
कर्णालीले पनि एक अर्ब ९६ करोड ३६ लाखले घटाएर आगामी आवका लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट प्रस्तुत गरेको छ । चालू आवमा कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ छ ।
सुदुरपश्चिमले भने बजेटको आकार दुई अर्ब ३६ करोड ३६ लाख रुपैयाँले बढाएको छ । चालु आवका लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याएकोमा आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड ९५५ लाख २८ हजार अंकको बजेट घोषणा गरेको हो ।
त्यस्तै, बागमतीले एक अर्ब ८३ करोड १४ लाख रुपैयाँले बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । चालू आवका लागि बागमतीले ६२ अर्ब ७० करोड ९० लाखको बजेट ल्याएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।