रुसी सेनामा थप १० नेपाली युवाको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप १० नेपालीको मृत्यु भएको छ ।मस्कोस्थित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार पछिल्लो पटक मृत्यु पुष्टि भएका १० सहित ज्यान गुमाउने नेपालीको संख्या ३५ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईं, लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, जिल्ला पत्ता नलागेका राजु थारू र घनश्याम परियार रहेको दूतावासले जनाएको छ ।
युद्धमा घाइते भएर उपचाररत नेपाली ६ रहेको पनि दूतावासले जनाएको छ । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १ सय २८ पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीका बारेमा सुरुआतमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन । दूतावासले पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन । दूतावास स्रोतले उपलब्ध गराएको सूचनाअनुसार ३५ जनाको नाम पुष्टि भएको छ ।
‘रुस–युक्रेन मामिलामा सार्वजनिक रूपमा नभन्न र बाहिर जानकारी नदिनका लागि मन्त्रालयभित्रै उर्दी जारी गरिएको छ,’ परराष्ट्र स्रोतले भन्यो । मृत्यु हुने नेपालीका बारेमा मस्कोस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।