बिर्तामोडमा ४ सय विरुवा रोपियो
बिर्तामोड । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।
बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फूलका विरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ ।
बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यसअघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्किसकेका छन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ–आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गर्नुभयो । उहाँले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षरोपण आवश्यकता रहेको बताउनु भयो । रोपेका विरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।
हुर्कीसकेका विरुवा उखेल्ने, हाँगा भाँच्ने लगायतका क्रियाकलाप हुनेगरेको पाईएकोले यसो नगर्नसमेत आव्हान गर्नुभयो । वृक्षरोपण कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, ईन्चार्ज अम्बिर लिङदेन, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।