टेकु प्रहरी परिसर अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन
जिल्ला प्रहरी परिसर काठमाडौं टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ।
मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको भन्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा कुटपिट गरेको गुनासोपछि छानबिन समिति गठन गरिएको बताए।
उक्त समितिमा को-को छन् भन्ने खुलिसकेको छैन।
अधिवक्ता भगवती पाण्डे ‘शितल’ ले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिपछि मगर र तामाङ समुदायले साउन १७ गते टेकुमा प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा ढुंगामुढा भएको थियो भने प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रण लिने क्रममा प्रहरीले कुटपिट गरेको र कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्ने भन्दै उनीहरूले सोमबार गृहमन्त्री श्रेष्ठसँग भेटेका थिए।
Source: Setopati