सम्पादकीय : हामी आयौँ
नेपाली पत्रकारिताको इतिहास करिब १६५ वर्षको छ । वि.सं. १९४५ ताका भारतको बनारसबाट निस्किएको ‘गोरखा–भारत जीवनी’ नै पहिलो नेपाली भाषाको पत्रिका हो । यसका सम्पादक साहित्यकार मोतिराम भट्ट थिए । यसको करिब दश वर्षपछि नेपालबाट नै साहित्यिक पत्रिका ‘सुधासागर’ सुरु भयो । पछि तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरले विसं १९५८ वैशाख २४ गतेबाट गोर्खापत्र प्रकाशनको सुरुवात गरेका थिए । नेपाली पत्रकारिताले अनेक उत्तरचढाब भोगेको छ । राणा शासन, प्रजातन्त्र, निर्दलीय पञ्चायती व्यवस्था, गणतन्त्रलाई नेपाली पत्रकारिताले अनुभव गरेको छ । अनेक बाधा र अवरोधका बीच पनि नेपाली पत्रकारिता नडगमगाई निरन्तर खबरदारीमा लागि रहेको छ । कागजका पानाबाट सुरु भएको नेपाली पत्रकारिता अहिले मोबाइल, कम्प्युटरजस्ता डिजिटल माध्यममा आइपुगेको छ ।
नेपाली अनलाइन पत्रकारिताको इतिहास अमेरिकाबाट सुरु भएको पाइन्छ । तीन दशकअघि अर्थात् २०५० सालमा न्युयोर्कबाट ‘द नेपाल डाइजेस्ट’ नामक अनलाइन पत्रिका सुरु भएको पाइन्छ । जसले अंग्रेजीभाषमा त्यहाँ रहेका नेपालीका बारेमा समाचार, लेख प्रकाशन गर्दथ्यो । त्यसैगरी २०५६ सालमा मर्केन्टाइल कम्युनिकेसनले ‘नेपालन्यूज डटकम’ नामक वेबसाइट सुरु गरेको थियो । जहाँ विभिन्न पत्रपत्रिकामा प्रकाशित सामग्री इन्टरनेटमा उपलब्ध गराइन्थ्यो । २०५७ सालमा कान्तिपुर मिडिया ग्रुपले ‘कान्तिपुर अनलाइनडटकम’ अनलाइन सुरु गरेको इतिहास छ । त्यसयता क्रमशः अनलाइन पत्रकारिताको विकास भएको मानिन्छ । अहिले अनलाइन पत्रकारिता नागरिकको सहज सूचनाको पहुँच बनेको छ । अनलाइन पत्रकारिताले ‘नागरिक पत्रकारिता’को अवधारणा पनि ल्याएको छ । समाचारजन्य लेख, भिडियो तथा अडियो यही डिजिटल प्लाटफर्ममा छ । एक प्रकारले अनलाइन सञ्चार माध्यमको भीड नै छ । जसले नागरिकको सूचनामाथिको पहुँचलाई सहज बनाइरहेको छ । सूचनामाथि नागरिकको पहुँचलाई सहज बनाउन ‘ईखरीपाटी’ आजबाट सुरुवात भएको छ ।
कुनै समय अनलाइनलाई मूलधारको पत्रकारिता मान्ने चलन थिएन । अहिले अनलाइन सञ्चारमाध्यमको प्रभाव बढ्दै गएको छ । अनलाइन सञ्चार माध्यमको विकास भएसँगै शासक र सत्ताले लुकाउन चाहेको सूचना पनि बाहिर आउन थालेका छन् । जसले नागरिकको सूचना पाउने संवैधानिक प्रवधानलाई सम्मान गरेको छ । अख्तियार प्राप्त निकायलाई जनताको पक्षमा काम गर्न निरन्तर खबरदारी गरिरहेको छ । झापाको बिर्तामोडमा कार्यालय रहेको ईखरीपाटीको मुख्य उद्देश्य पनि निरन्तर खबरदारी गर्दै सत्ता र शक्तिलाई निरन्तर प्रश्न गरेर जवाफदेही र उत्तरदायी बनाउने रहेको छ । मूलतः कोशी प्रदेश हाम्रो प्राथमिकतामा रहनेछ । हामी ‘ब्रेकिङ समाचार’को हतारमा रहने छैनौँ । हामी सधैँ सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताको पक्षमा रहने छौँ । हाम्रो उपस्थिति सशक्त रहने प्रतिबद्धता जनाउँद छौँ ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानले स्थापित गरेको व्यवस्थालाई ईखरीपाटीले पत्रकारिताको माध्यमबाट सधैँ समर्थन गर्नेछ । पत्रकारिताको मूल मर्म र धर्मलाई कहिल्यै मर्न र आँच आउन नदिन ईखरीपाटीको प्रतिबद्धता छ । नेपालको संविधान, कानुन र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिताको पूर्ण रूपमा पालना गर्दै नागरिकको सूचना पाउने हकको सधैँ सम्मान गर्नेछौँ ।
–सम्पादक