‘लोकतन्त्र नाटक जस्तैं भयो’
बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गीकता विषयक अन्तरक्रियामा सहभागीहरुले आ–आफ्नो धारणा राख्ने क्रममा परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाएपनि आन्दोलनबाट प्राप्त उपलब्धीले साधारण नागरिकलाई छुन नसकेको बताए ।
नागरिक आन्दोलनका अभियान्ता डा. सञ्जीव उप्रेती र अर्चना थापा मुख्य वक्ताको रुपमा रहेको कार्यक्रममा संघीयताको मर्म अनुसारको काम हुन नसकेको बताउँदै डा. उप्रेतीले अहिले पनि न्याय माग्नका लागि काठमाडौं नै धाउनुपर्ने, धर्ना, अनसन नै बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । लोकतन्त्र नाटक जस्तो देखिएको बताए । उनले भने–‘संघीयता, समावेशी लगायतका विषयवस्तु राम्रा भएपनि परिकल्पना अनुसार कार्यान्वयन नहुँदा लोकतन्त्र नाटक जस्तै भयो ।’
लोकतन्त्र र संघीयताको मर्म अनुसार भुँई मान्छेको आवाज सुनिन छोडेको बताउँदै नागरिकले न्याय पाउनका लागि वकिललाई न्यायालयमा सेटिङ छ कि छैन भन्ने सोधेर मात्रै मुद्दा दिने दिन आएको बताए ।लोकतन्त्रमा फरक मतको पनि कदर हुनुपर्नेमा जोड दिएका उप्रेतीले नागरिक आन्दोलन बिचार परिवर्तन गर्ने प्रयास भएको स्पष्ट पारे । सामाजिक संरचना जस्तै नागरिक आन्दोलन पनि रहेको स्पष्ट पार्दै संरचनागत लाभांश लिएर जीवनलाई सहज बनाउने गलत मिथकलाई तोड्नुपर्नेमा उप्रेतीको जोड थियो ।
कार्यक्रममा बोल्दै उप्रेतीले विगतमा नागरिक आन्दोलनका नेतृत्व गर्नेहरु राजनीति लगायत राज्यका कुनै न कुनै लाभका पदमा गएकाले दलीय वा डलरबादीको आरोप पनि लाग्ने गरेको उप्रेतीले बताए ।
लवाई खुवाईमा, राम्रो गाडी चढेर, डिग्री होल्डर र लवाई खुवाई राम्रो हुँदैमा परिवर्तन आउन नसक्ने बताउँदै वक्ता अर्चना थापाले समाज रुपान्तरणका लागि सोचमै परिवर्तन आउनुपर्ने बताइन् ।
अझै पनि लैङ्गिक असमानता कायम रहेको बताउँदै थापाले सबैभन्दा घरपरिवारको घेरा तोड्न कठिन रहेको बताइन् । साहित्य सिर्जनामा सक्रिय थापाले एउटा कोठाभित्र बसेर गरिने काल्पनिक साहित्यको कथा भन्दा साहित्यको काल्पनिक पानाबाट बाहिर निस्केर सडकको वास्तविक कथा बुझ्न सडकमै आएको बताइन् ।