इलाम गोल्डकप : एनआरटी सेमीफाइनल प्रवेश
इलाम । न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङले सहजै जाली चुमाए ।
उता बाग्मतीका आयुस राना मगर, बिमल घिसिङ र अभिषेक महतोले जाली चुमाएपनि कप्तान दावा गुरुङको प्रहार एनआरटीका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । निर्मल घिसिङको प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा दुवै टिमका खेलाडीले पाएको केही अवसर सदुपयोग गर्न नसक्दा विजेता निर्धारण हुन टाइब्रेकरसम्म पर्खनुपरेको थियो । जितसँगै एनआरटीले बुधबार हुने पहिलो सेमीफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामसँगको भेट पक्का गरेको छ । रेडहर्षले पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४-० ले रोक्दै सेमीफाइनलको यात्रा तय गरेको थियो ।
खेलको म्यान अफ द म्याच उपविजेता बाग्मतीका आयुस राना मगर घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे ।
मङ्गलबार अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लब र लुम्बिनी फुटबल क्लब बुटवलबीच प्रतिष्पर्धा हुनेछ ।